वीरगंज । प्रस्तावित संघीय निजामती सेवा ऐनमा आफूहरुको माग सम्बोधन नभएको भन्दै कर्मचारीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका छन् ।
प्रस्तावित ऐनमा नायब सुब्बाहरुको माग सम्बोधन नभएको भन्दै उनीहरुले सोमबार सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका हुन् । कर्मचारीहरुले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० प्रतिशत तथा बढुवा ३० प्रतिशत, आन्तरिक/अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् ।
उनीहरुले ‘नासु मारा ऐन चाहिँदैन’, ‘नासुलाई बढुवामा हेप्न पाइँदैन’, ‘कुनै एक पदमा कार्यरत कर्मचारी अधिकतम १० वर्षमा माथिल्लो पदमा बढुवा हुने व्यवस्था गर’ लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए । कर्मचारीको पेशागत हित र वृत्ति विकासका विषयलाई ध्यान नदिएकाले आन्दोलनको सुरुआत गर्नुपरेको कर्मचारीहरुले जनाएका छन् ।