वीरगंज । युवा तथा खेलकुद मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट नियुक्त गरेका राष्ट्रिय खेलकुद परिषद (राखेप)का ८ जना बोर्ड सदस्यहरुले औपचारिक पदबहाली गरेका छन् । आइतबार काठमाडौंमा बसेको राखेपको ११३ औं बोर्ड बैठकमा ती ८ जना सदस्यलाई सहभागी गराइएसँगै उनीहरुको जिम्मेवारी सुरु भएको हो ।
सरकार परिवर्तनसँगै नयाँ खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गत मंसिर ३ गते राखेपका ९ जना बोर्ड सदस्यलाई बर्खास्त गरी १० गते ८ जनालाई नयाँ नियुक्ति दिएका थिए । आफ्नो बर्खास्ती र नयाँ नियुक्तिको विरोधमा ९ मध्ये ५ जना सदस्यले उच्च अदालतमा रिट दायर गरेपछि अदालती झमेला सुरु भएको थियो । अदालतको अन्तरिम आदेशसँगै नयाँ नियुक्ति भएकाले जिम्मेवारी पाउन सकेका थिएनन् । गत असार २९ गते उच्च अदालत पाटनले बर्खास्तीमा परेका बोर्ड सदस्यको रिट खारेज गरिदिएपछि नयाँ सदस्यको नियुक्तिका लागि बाटो खुलेको थियो ।मंसिर मै नियुक्ति पाएका बोर्ड सदस्यहरु मोहम्मद फाजिल, पेमा डोल्मा लामा, जनक प्रसाद बर्तौला, दिपेन्द्र विष्ट, प्रकाश कुमार कुसारी, विना नवाछे श्रेष्ठ, अन्जन धमला र श्रीमान थापा मगर आइतबारको बैठकमा राखेपका अध्यक्ष समेत रहेका खेलकुद मन्त्री गहतराजले स्वागत गरेका थिए ।
राखेपले वार्षिक कार्ययोजना बनाउँदै
घरेलु खेलकुदको नियामक निकाय राखेपले सरकारले बजेट र नीति तथा कार्यक्रममा आधारित रहेर वार्षिक कार्ययोजना बनाउने भएको छ । राखेप सदस्यसचिव टंकलाल घिसिङले आइतबारको बोर्ड बैठकमा योसहित चारवटा एजेण्डा प्रस्तुत गरेका छन् । त्रैमासिक लक्ष्यसहितको कार्ययोजना बनाउने विषय राखेप बोर्ड बैठकमा छलफल हुनेछ । त्यसबाहेक असोज २८ देखि कात्तिक ३ सम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि अहिलेसम्मको तयारी र कार्यप्रगतिबारे बैठकमा छलफल हुनेछ । नयाँ खेलकुद ऐनअनुसार राखेपको सांगठानिक संरचना निर्माण गर्ने एजेण्डा पनि सदस्य सचिव टंकलाल घिसिङले प्रस्तुत गरेका छन् ।