जनकपुरधाम | प्रहरीले मधेश प्रदेशमा एक वर्षको अवधिमा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा १ हजार २८५ जनालाई पक्राउ गरेका छन्। आर्थिक वर्ष २०७८।७९ मा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा १ हजार २६० पुरुष र २५ महिला गरी कुल १ हजार २८५ जनालाई पक्राउ गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जानकारी दिएको छ।
लागुऔषधतर्फ प्रहरीले ४ हजार ३५ किलो ८६० ग्राम गाँजा, १ सय ६४ ग्राम ब्राउन सुगर, ५१ किलो ५ ग्राम ९८० मिलिग्राम चरेस, ९८ ग्राम १६३५ मिलिग्राम हेरोइन‚ २१३ लिटर डाइलेक्स डिसी, ७० हजार १२४ पिस लागुऔषध ट्याब्लेट र ३९ हजार ६७ पिस लागुऔषध इन्जेक्सन बरामद गरेको प्रहरीले जानकारी दिएको हो।
खुला सिमाना भएको र भारतमा बिक्री गर्नमा निषेध नभएका औषधि खरिद गरेर नेपाल ल्याई बिक्री वितरण गर्ने गरेका छन्। यस्तो काममा खासगरी किशोर किशोरीको सङ्ख्या अधिक रहेको पनि प्रहरीले बताएको छ।