वीरगंज । नेपालमा कोरोना संक्रमणका कारण दुई दिनमा दुई जनाले ज्यान गुमाएका छन् । करिब अढाई महिनामा कोरोना मृत्यु शून्य रहेकामा पछिल्लो दुई दिनमै संक्रमणका कारण दुई जनाको मृत्यु भएको हो । मृत्यु भएका संक्रमितमा दीर्घरोग पनि नभएको पाइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएका दुवै जनाले कोरोनाविरुद्धको खोप लगाएका थिएनन् । यसअघि गत वैशाख २१ मा एक जनाको मृत्यु भएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार मृत्यु भएकी ५६ वर्षीया महिला र सोमबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका ५७ वर्षीय पुरुषमा दीर्घरोगको समस्या नरहेको र दुवैले कोरोनाविरुद्ध खोप नलगाएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । उनीहरूमा निमोनिया रहेको पाइएको छ । ‘खोप नलगाएकाहरू वा पूर्ण मात्रा नलिएकामा संक्रमणपछि स्वास्थ्य जटिलतासमेत देखिएको छ,’ डा. अधिकारीले भने ।
नेपालमा कोरोनाको चौथो लहर प्रवेश गरेसँगै संक्रमणको ग्राफ उकालो लाग्दै गएको छ । सोमबार पीसीआर र एन्टिजेन गरी ४ हजार ६ सय ५१ नमुना परीक्षण गर्दा ९.८२ प्रतिशत अर्थात् ४ सय ५७ जनामा कोभिड संक्रमण देखिएको छ । हाल सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७६ पुगेको छ । आइतबार ३ हजार ४१ कुल परीक्षणमा १ सय ३५ जना अर्थात् ४.४३ प्रतिशतमा संक्रमण पुष्टि भएकामा सोमबार दोब्बरले संक्रमण वृद्धि भएको हो । असार २८ गते संक्रमणदर ५.६६ रहेकामा साउन २ गते यो दर बढेर ९.८२ पुगेको छ । निकै संक्रामक मानिएको ओमिक्रोनको उपप्रजाति ‘बीए.५’ का कारण पनि संक्रमण तीव्र रूपमा फैलिरहेको विज्ञहरू बताउँछन् । यो भेरिएन्ट अहिलेसम्मकै कोरोना भेरिएन्टमध्ये छिटो फैलिने भनिएको छ । विज्ञहरूका अनुसार घाँटी दुख्ने, जीउ दुख्ने, थकित हुने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, ज्वरो आउने, गन्ध र स्वाद थाहा नपाउने, पसिना आउनेलगायत बीए.५ का लक्षण हुन सक्छन्, जुन फ्लुसँग पनि मिल्दोजुल्दो छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले बीए.५ भेरिएन्टलाई ‘अल्ट्राफास्ट भेरिएन्ट’ भन्न सकिने बताए । ‘हालको संक्रमण अवस्था ‘ब्रेक थ्रु इन्फेक्सनको लहर’ जस्तै हो । तथ्यांकअनुसार ७० प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् । खोप लगाएकालाई पुनः संक्रमण भइरहेको छ, जसलाई हामी ‘ब्रेक थ्रु केस वा इन्फेक्सन’ भन्छौं,’ उनले भने । यो भेरिएन्ट छिटो फैलिए पनि तुलनात्मक रूपमा अस्पताल भर्ना र मृत्युको जोखिमको ग्राफ एकदम कम हुने उनको भनाइ छ । बुस्टर डोजले धेरै हदसम्म जोखिम काट्दो रहेछ भन्ने देखिएकाले थप जोखिम रोक्न बुस्टर लगाउन जरुरी रहेको उनले बताए ।
तर, दीर्घरोगी र खोप लगाएका बूढापाका वा अन्यमा संक्रमणका कारण कस्तो जटिलता देखिन सक्छ भन्नेमा सरकारी स्वास्थ्य अधिकारीहरू नै प्रस्ट छैनन् । दीर्घरोगी, बूढापाका र खोप लगाएकाले पनि विशेष स्वास्थ्य सावधानी अपनाउन उनीहरूको सुझाव छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्क्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले संक्रमण बढेसँगै परीक्षण र प्रमुख नाकामा कडाइ गरिएको दाबी गरे । ‘जिन सिक्वेन्सिङ निरन्तर भइरहेको छ । सबैलाई राज्यले दिएको बुस्टर खोप र जनस्वास्थ्यका मापदण्ड पालना गर्नु अनुरोध गर्छु,’ उनले भने, ‘पछिल्लो समय खोप लगाएकामा पहिलेजस्तो जटिलता छैन । ज्वरो, शरीर दुख्ने, खोकी र पखाला जस्तो लक्षण देखिएको छ ।’
स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले कोभिड उपचारका लागि सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताइन् । ‘मिडिया ब्रिफिङमा पनि जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्नुहोला भनिरहेका छौं । अक्सिजनको उपलब्धता राखिराख्न तथा प्रमुख नाकामा शंकास्पद नमुना जाँचमा बढी निगरानी गरेका छौं,’ उनले भनिन् । सोमबारसम्म कुल जनसंख्याको ७०.१ प्रतिशत अर्थात् २ करोड ४ लाख ६४ हजार ६ सय ३९ जनाले पूर्ण खोप लिएका छन् । ७०.४ प्रतिशत अर्थात् २ करोड ५ लाख ४८ हजार ४ सय ९४ जनाले एक मात्रा र २३.७२ प्रतिशत अर्थात् ६९ लाख २४ हजार ६ सय २१ जनाले अतिरिक्त खोप लिएका छन् । सरकारले हाल ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि खोप दिइरहेको छ । साभार:कान्तिपुर