वीरगन्ज । बर्खायामसँगै नाइरोबी फ्लाइ कीराको सङ्क्रमण देखिएको छ । नाइरोबी फ्लाइ जातको कीरा देखिए पनि डराउनुपर्ने अवस्था नरहेको चिकित्सकले बताएका छन् ।
प्रायः वर्षायाममा देखिने उक्त कीरा अहिले पनि देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । अहिले नेपालको पूर्वी भेग तथा पश्चिमको कञ्चनपुरमा उक्त जातको कीरा देखिएको महाशाखाको किटजन्य शाखा प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए ।
काठमाडौंको सिभिल अस्पतालमा उक्त कीराका कारण सङ्क्रमित भएका दुई जनाको उपचार गरिएको छ । उनका अनुसार गत वर्ष पनि उक्त किराको सङ्क्रमणका कारण तीन/चार बिरामी भेटिएका थिए ।
‘अहिले पनि नाइरोबी फ्लाई कीरा देखिन थालेको छ । कीरा बाहिरी मुलुकबाट नआइ यही उत्पादन हुने गर्दछ’, दाहालले भने, ‘कीराले लामखुट्टे जस्तो सङ्क्रमण एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सार्दैन । जनस्वास्थ्यमा ठूलो रूपमा यो कीराले सङ्क्रमण ल्याउँदैन ।’मानिसको शरीरमा आएर बस्ने र मानिसले कीरालाई हातले फाल्दा कीरामा थिचिन गई रस निस्कन्छ । उक्त रसमा रहेको पेडेरिन तत्व एसिडले छालामा सङ्क्रमण गराउँछ । उनले कीरालाई शरीरबाट सजिलै फाल्नसक्ने हो भने सङ्क्रमण नहुने बताउँछन् ।
‘कीरालाई सजिलैसँग शरीरबाट फाल्न सक्यो भने सङ्क्रमण हुँदैन’, दाहालले भने, ‘किरा नरम भएकाले शरीरबाट फाल्दा थिचिने गर्दछ र यसरी थिचिँदा कीराबाट एसिड निस्कन्छ । जुन एसिड शरीरलाई हानि गर्दछ ।’
एसिड छालामा लागेपछि २४ घण्टाभित्रमा छाला रातो हुने, बिबिरा आउने, जनैखटिरा आउने, चिलाउने जस्ता लक्षण देखिने महाशाखाको किटजन्य शाखा प्रमुख डा दाहालले जानकारी दिए ।
‘लक्षण देखिएपछि धेरै मानिस आफैँ सञ्चो भएर जान्छन्’, उनले भने, ‘सञ्चो नभएका नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि जानु पर्दछ ।’
प्रायः सडेगलेका खानेकुरा, मरेको जनावर र फोहरमैला भएको ठाउँमा उक्त किरा देखिने र प्रजनन गराउने गर्दछ । कीराबाट हुने सङ्क्रमणबाट पेडेरस डर्माटिटिइज जस्तो रोग लाग्ने गरेको उनी बताउँछन् । कीराको सङ्क्रमणबाट देखिने रोगबारे छाला रोगका विशेषज्ञ र कीरा विज्ञसँग छलफल गर्ने तयारी भइरहेको दाहालले बताए ।