वीरगंज । झापा भद्रपुर नगरपालिकामा रहेको मोबाइल पसल चोरी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। प्रहरीले १९ वर्षीय बरुण सहनीलाई नियन्त्रणमा लिएको हो। सिरहाको मिर्चैया नगरपालिकामा आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो। भद्रपुर नगरपालिका-५ स्थित प्रियंका मोबाइल पसलमा चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा नगरपालिका-५ देवीबस्ती बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको थियो।
पसलबाट शुक्रबार राति चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा ती किशोरलाई पसलबाट चोरी भएको १ थान मोबाइलसहित प्रहरीले पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा मोबाइल पसल पछाडि झाडीमा लुकाई राखेको तोडिएको ताला १ थान, फलामको रड १ थान, चोरी भएको मोबाइलहरूको खोल, १० लिटर पेट्रोल, अमुल जुस १९ थान फेला पारेको थियो।
त्यस्तै सोही नगरपालिका-५ देवीबस्तीस्थित काली मन्दिरनेर झाडीमा पसलबाट चोरी भएको मोबाइलहरूको चार्जर २७ थान र उनको घरको पछाडि इँटामुनि लुकाई राखेको सिक्सर/रिभल्वर पेस्तोलमा प्रयोग हुने ८० राउण्ड गोली फेला पारी बरामद गरेको हो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।