वीरगंज । विश्वका विभिन्न नौ मुलुकसँग द्विपक्षीय हवाई यातायातसम्बन्धी सम्झौता भएपनि हाल उक्त देशहरूमा हवाई सेवा संचालन हुन सकेको छैन। सरकारले विदेशी मुलुकहरूसँग अन्तर्राष्ट्रिय हवाई यातायात संचालन गर्न द्विपक्षीय तथा बहु-पक्षीय सम्झौता गरेपनि ती मुलुकसँग हवाई सेवा संचालन गर्न सक्रिय नभएको महालेखा परीक्षकको कार्यालयले जनाएको हो।
महालेखा परीक्षकको ५९ औं प्रतिवेदनअनुसार सम्झौता भएको १५-२० वर्ष भइसक्दा पनि फिलिपिन्स, भियतनाम, कम्बोडिया, ब्रुनाई, म्यान्मार, इजिप्ट, इजरायल, माल्दिभ्स र न्युजिल्याण्डमा हवाई सेवा संचालन हुन नसकेको हो।
विगतका वर्षमा हवाई यातायात संचालन भएका पाकिस्तान र जापानमा पनि नियमित हवाई सेवा संचालन नभएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ। सोही प्रतिवेदनअनुसार नियमित सेवा दिँदै आएका थाइल्याण्ड र हङकङका वायु सेवा संचालन संस्थाले सन् २०२१ मा नेपालमा उडान गरेका छैनन्। त्यस्तै, अष्ट्रेलियासँग सन् २०१९ मा हवाई सेवा सम्झौता भएपनि अझैं सुरुवात हुन सकेको छैन।