वीरगंज । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई छलफलमा आउन आह्वान गरेका छन् । पार्टीको जारी विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यादवकै कारण पार्टी संकटमा गएको भन्दै बीरगन्जमा बाेलाइएको बैठक स्थगन गरेर वार्तामा आउन आह्वान गरेका हुन् ।
साथै उनले बैठकमा आफ्ना कुराहरु राख्न दिन समेत आग्रह गरेका छन् । ‘पार्टी फुटाउने हाम्रो मनसाय होइन । पार्टीको पुनर्गठन र रुपान्तरण हाम्रो मनसाय हो । अवैध र गुटको बैठक स्थगित गरेर सल्लाह गर्न आउनुहोस्, बैठक बसौँ,’ उनले भने, ‘त्यहाँ आएर हामी गलत रहेछौँ भने हामीलाई नंग्याउनुहोस् । तर, बैठकमा हाम्रो कुरा राख्न दिनुहोस्, म उपेन्द्रजीलाई अनुरोध गर्छु ।’
उनले पार्टीमा उपेन्द्रले एकलौटी गरेको बताए । ‘पार्टीको केन्द्रीय समिति एकापट्टी छ । कार्यकारीणी अध्यक्षले बैठक नै बोलाउनु भएन । कार्यकारिणी सदस्यले कुनैपनि बैठक बोलाउनु भएन । उहाँले परामर्श गर्नु नै भएन । एकलौटी गर्नुभयो ।’ नेता भट्टराईले पार्टीको रुपान्तरण र पुनर्गठन अहिलेको आवश्यकता रहेको बताए । पार्टीलाई वैकल्पिक पार्टीको रुपमा विकसित गर्ने योजना रहेको उनले सुनाउ ।