वीरगंज । नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई शनिबार गृहनगर वीरगञ्जमा ५१ किलाेकाे माला लगाएर भव्य स्वागत गरिएको छ ।मन्त्रीकाे सपथ लिएपछि पहिलाे पटक गृहनगर आइपुगेका यादवलाई हजाराैँ नेता कार्यकर्ताले भव्य स्वागत गरेका हुन् । काठमाण्डाैबाट हवाइ मार्ग हुँदै आएका यादवलाई वीरगञ्जमा स्वागत गर्न महानगरपालिकाका मेयर राजेशमान सिंहसहित हजाराैँ नेता कार्यकर्ता सिमरा विमानस्थल पुगेका थिए ।
वीरगञ्ज आउनासाथ मन्त्री यादवले घण्टाघरमा रहेकाे शहिद स्मारक पुगेर शहिदहरुको सालिकमा माल्यार्पण गरेका छन् । त्यस लगत्तै टाउनहलमा पार्टीकाे महानगर कमिटीले आयाेजना गरेकाे कार्यक्रममा यादवलाई ५१ किलाेकाे माला लगाएर स्वागत गरिएकाे हाे । पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका यादव पछिल्लो पटक मन्त्रिपरिषद विस्तार हुँदा गएको सोमबार जनता समाजवादी पार्टीकाे तर्फबाट मन्त्री बनेका हुन् । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका यादव वीरगञ्जमा चर्चित युवा नेताको रुपमा परिचित छन् ।
गएको २०७४ मा भएको निर्वाचनयता पर्साले संघीय मन्त्री पाउन सकेको थिएन । पछिल्लो पटक परिवर्तन भएको मन्त्रिपरिषद्मा पार्टीले महेन्द्र राय यादवलाई फिर्ता बोलाउँदै वन तथा वातावरण मन्त्रीमा प्रदीप यादवलाई पठाएसँगै पर्साले मन्त्री पाएको हो । मन्त्रीकाे सपथ ग्रहण गरेपछि यादव पहिलाे पटक वीरगञ्ज आएका हुन् । यस्तै महानगरकमिटीले आयाेजना गरेकाे कार्यक्रमकाबीच पर्सामा पार्टीकाे तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई पनि सम्मान गरिएकाे छ ।