वीरगंज । अपरहण गरेर हत्या गरिएकी भनिएकी चितवनको राप्ती ३ की सुजिता भण्डारीले आत्महत्या गरेको निश्कर्षमा प्रहरी पुगेको छ । आफ्नै दाजुसँग प्रेममा परेकी उनलाई दाजुले विवाह नगर्ने बताएपछि आत्महत्या गरेको रहस्य खुलेको हो ।
झापाको झापा गाउँपालिका ६ शरणमतिका २३ वर्षीय सचिन भन्ने सुकदेव भण्डारीसँग सुजिताको प्रेम सम्बन्ध रहेको थियो । विवाह नभएपछि उनले आत्महत्या गरेको प्रहरीले जानकारी गराएको छ ।सुजिताले सकुदेवलाई विवाहको लागि दबाब दिएकी थिइन् । सुकदेवले नमानेपछि दुईजना बीच विवाद भएको थियो ।
सुजिताले विवाह नगरे मर्ने धम्की दिएकी थिइन् । सामाजिक तथा नैतिक कठिनाइका कारण सकेसम्म विदेश जाने र सम्भव नभए अपहरणको बहाना बनाइ कसैले थाहा नपाउने ठाउँमा गएर बस्ने दुवैको योजना थियो । सुकदेवलाई काठमाडौंबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओमप्रकाश अधिकारीले बताए ।
गत असार २० गते ब्रह्मास्थान सामुदायिक वनको भीरमा सुजिताको शव भेटिएको थियो । सुजिता असार ११ गते साथीको घरमा जान्छु भनेर हिँडेकी थिइन् । अहिले आमा अम्बिका भण्डारीले सुकदेव विरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दिएकी छिन् ।