वीरगंज । रुसका पूर्व राष्ट्रपति डिमट्री मेदभेदेभले कच्चा तेलको भाउ बढेर प्रतिब्यारेल ३००/ ४०० डलर नाघ्न सक्ने चेतावनी दिइएका छन् । जापानले रुसी तेलको मूल्य अहिलेको स्तरभन्दा आधा सीमा तोक्ने प्रस्ताव गरेपछि मेदभेदेभको सो अभिव्यक्ति आएको हो । जापानको सो प्रस्ताव पारित भएमा बजारमा तेल कम हुने र मूल्य ४०० डलर नाघ्न सक्ने तर्क उनको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले हप्ताको शुरुमा सो प्रस्ताव गरेका थिए । मूल्यमा सीमा तोकेमा उसले रुसबाट तेल र ग्याँस केही पनि नपाउने र शाखलिन–२ एलएनजी परियोजनामा पनि कुनै सहभागिता नरहने सो प्रस्तावबारे टिप्पणी गर्दै मेदभेदेभले यस्तो भनेका थिए ।
गत हप्ता औद्योगिक देशहरुको समूह जी–सेभेनले युक्रेनमा युद्धको लागि आवश्यक रकम जोहो गर्ने रुसको क्षमता खुम्च्याउन रुसबाट आयातित तेलसमेतका खनिज इन्धनमा अस्थायी रुपमा आयात मूल्य सीमा तोक्न सम्भाव्यता खोज्ने सहमति गरेका थिए । ‘बजारमा निकै कम तेल हुनेछ र यसको मूल्य पनि निकै माथि पुग्नेछ । यति मात्रै होइन, तेलको मूल्य भविष्यवाणी गरिएको खगोलिय मूल्य प्रतिब्यारेल ३००/४०० डलर भन्दा पनि उच्च हुनेछ ।’ हाल रुसको सुरक्षा परिषद्का उपाध्यक्ष रहेका मेदभेदेभले भने । रुसी तेलको मूल्यमा सीमा तोक्ने प्रस्ताव अन्य देशहरुले अस्वीकार गर्ने आशा रुसले गरेको छ । गत हप्ता मात्रै रुसका वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको सुदुर पूर्वमा रहेको शाखलिन–२ ग्यास तथा तेल परियोजनामा रहेको सबै स्वामित्व जफत गर्ने एउटा अध्यादेशमा हस्ताक्ष्र गरेका थिए । सो परियोजनामा अमेरिकी तेल कम्पनी शेल र जापानी कम्पनीहरु मिसुई एन्ड कम्पनी र मिसुबिसी कर्पोरेशनको पनि स्वामित्व छ ।
मंगलवार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ । लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुड प्रतिब्यारेल ११४ डलर आसपासमा किनबेच भइरहेको छ । अमेरिकाको न्यूयोर्कमा रहेको न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियटको भाउ पनि प्रतिब्यारेल १०७/८ डलर आसपास छ । विश्वभर आर्थिक मन्दी छाउने र तेलको मागमा उल्लेख्य कटौती हुने भय बल्झिँदा अघिल्लो दिन बढेको तेल बजार मंगलबार ओरालो लागेको हो । विश्व बजारमा कच्चा तेलको भाउ ११०/१५ डलर आसपास रहँदा नेपालमा पेट्रोलको भाउ १८१ रुपैयाँ १, डिजेलको भाउ १७२ रुपैयाँ छ । हालै मात्रै नेपाल आयल निगम डिजेल र पेट्रोलको भाउमा क्रमशः २ रुपैयाँ र ९ रुपैयाँ वृद्धि गरेको थियो । विश्व बजारमा कच्चा तेल ३००/४०० डलर नाघ्यो भने नेपालमा भाउ कुन स्तरमा पुग्ला भनेर कल्पना गर्दा पनि सिरिङ्गै हुन्छ ।