रौतहट । सामाजिक सञ्जालबाट प्रेमजालमा पारी लुटपाट गर्ने एकजनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले बारा जिल्लाको प्रसौनी गाउँपालिका–४ खुटवा प्रसौनी ३६ वर्षीय महमद रफिक रायभटले महिलाहरुलाई फोन तथा सामाजिक संजालको माध्यमबाट प्रेमजालमा पारी बाहिर घुम्न जाने बहानामा घरबाट बाहिर बोलाई होटेलमा लगी पेय पदार्थमा लठीने नसालु पदार्थ मिसाई खुवाई बेहोस पारी गरगहनालगायत निजसँग भएको रकमसमेत लुटेको आरोपमा पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तु प्रसाद जैसवारका अनुसार रायभटले महिलालाई मायाजालमा पारेपछि घुम्ने बहानामा होटलमा बोलाउने, महिलाकै नाममा होटलमा कोठा बुक गर्ने र ती महिलालाई पेय पर्दाथमा लठ्ठीने औषधि खुवाएर लुट्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताए । जैसवारका अनुसार रायभाटले २०७९ बैशाख ५ गते दिउँसो साढे एक बजेतिर चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा रहेको चपुर पराठा एण्ड गेष्ट हाउसमा महोत्तरी जिल्लाकी एक महिलालाई लगेर उनकै महिलाकै नाममा कोठा बुक गर्न लगाई रेडबुल खान दिई बेहोस बनाई निज महिला लुटपाट गरेको खुल्न आएको छ ।
महिला बेहोस भएपछि उनले महिलाले लगाएकी सुनका गरगहनाहरु (कानको ४ आनाको सुनको रिङ २ थान, कानमा लगाएको ३ आनाको सुनको मुन्द्रा ४ थान, सुनको तिलहरी ४ आनाको १ थान र मंलगसुत्र १ तोलाको १ थान) हालको प्रचलित मुल्य अनुसारको रु. २ लाख ८० हजार र पर्समा रहेको १० हजार लुटी रायभाट फरार भएका थिए । प्रहरी यिनै पिडित महिलाको जाहेरीको आधारमा अनुसन्धान गरी रायभाटलाई उनकै घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । प्रहरी यस घटनाबारे थप अनुसन्धान भइरहेको र अरुपनि पिडित भएको हुनसक्ने जनाएको छ ।