वीरगंज । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले अहिले बजारमा हरेका सामान अत्याधिक महंगो भैरहेको छ । अर्थतन्त्रको लाइफलाइन मानिने यो पदार्थको मूल्य पछिल्लो समय आकाशिँदै गैरहेको छ । हाल पेट्रोलको मूल्य १७८ र डिजेलको प्रतिलिटर १६८ रुपैयाँ पुगिसकेको छ । कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागिरहेका कारण भोलिका दिनमा यो मूल्य अझै बढ्ने निश्चित प्रायः बनेको छ ।
नेपालमा पेट्रोलियम पदार्थको खपत सवैभन्दा बढी सवारीसाधनमा हुनेगरेको पाइन्छ । ठूला र मालवाहक सावारीसाधनमा डिजेल र साना प्यसेन्जर कार अर्थात वाइकमा पेट्रोल खपत हुँदै आइरहेकोमा पछिल्लो मूल्य वृद्धिले ढुवानीदेखि सवारीसाधनको संचालन खर्च समेत थप महंगो बनाइदिएको छ । यसरी संचालन खर्च बढ्न थालेपछि उपभोक्ताहरुले अत्यावश्यक वाहेक अन्य काममा सवारीसाधन प्रयोग गर्न कम गरिरहेका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सबैभन्दा धेरै मार निम्न मध्यम आय भएका उपभोक्तालाई पारिरहेको छ । यो वर्गका उपभोक्ताले प्रायः कम मूल्यमा खरिद गर्न सकिने साना सीसीका कार प्रयोग गर्ने गर्छन् । गाडी किन्नुअघि नै माइलेजमा वढी संवेदनशील हुने यो वर्ग अहिले पेट्रोलको मूल्य आकाशिएसँगै थप मारमा परेका हुन् । जसको सिधा असर सडकमा यस्ता गाडीको घट्दो चापले पुष्टि गरिरहेको छ । अहिले सडकमा प्रायः ठूला सीसी क्षमताका एसयुभीको संख्या अत्यधिक देखिन्छ भने साना गाडीको चाप एकदमै न्यून ।
सडकमा मात्र होइन यसको प्रभाव यस्ता गाडी मर्मत सम्भार गर्ने वर्कशपमा समेत देखिन थालिसकेको निसान तथा ड्याट्सन गाडीको आधिकारिक सर्भिस सेन्टर एसपीजी अटोमोबाइल्सका सर्भिस हेड केपी पोखरेले बताए । उनका अनुसार अहिले यस्ता गाडी प्रयोग गर्दै आइरहेका अधिकांश ग्राहकले गाडीलाई घरमै थन्काएर मोटरसाइकल तथा स्कुटरमा र केहीले सार्वजनिक यातायातमा यात्रा गर्दै आइरहेका छन् । जसका कारण वर्कशपमा मर्मतसम्भार गराउन आउने साना गाडीको चाप निकै कम भएको छ । ‘पहिलो त पेट्रोलको मूल्य नै छोइनसक्नु भएका कारण ग्राहकले यस्ता गाडी चलाउन कम गर्दै लगेका छन भने दोस्रो पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण ढुवानी खर्च बढेका कारण मर्मत सम्भारमा प्रयोग हुने स्पेयर पार्ट्स तथा कम्पोनेन्ट्सको मूल्य समेत २५ प्रतिशत हाराहारीमा वृद्धि भएको छ । यसले गाडीको संचालन र मर्मतसम्भार दुवै शीर्षकमा खर्च बढाइदिएको छ । यसरी वढ्ने मूल्यले व्यापारी र उच्च आयस्रोत भएका ग्राहकलाई खासै असर नगरेपनि मध्यम स्तरको आय भएको ग्राहकलाई एकदमै असर पारिरहेको छ । जसका कारण हाम्रो वर्कशपमा आउने साना गाडीको चाप अहिले आधाले कम भएको छ’ उनले नेपाल अटोसँग भने ।
पेट्रोलको मूल्य आकाशिँदै गएपछि वर्कशपमा गाडीको चाप कम हुँदै गएको अर्का वर्कशप व्यवसायी मधुसूदन सिग्देल समेत बताउँछन् । सुजुकी गाडीको आधिकारिक सर्भिस सेन्टर संचालन गर्दै आइरहेका उनी पछिल्लो समय वर्कशपको मात्र नभएर हरेक व्यवसायको कारोबार प्रभावित भैरहेको ठहर गर्छन् । उनी भन्छन्, ‘पेट्रोलको मूल्य बढेका कारण यसले सवारीसाधनको संचालन खर्च बढाइरहेको छ । जसका कारण ग्राहकले गाडीको प्रयोग कम गरिरहेका छन् र यसले वर्कशपको व्यवसायलाई समेत प्रभावित बनाएको छ ।’ पछिल्लो समयमा आफ्नो सवारीको रुपमा साना ह्याचब्याक गाडी प्रयोग गर्नेहरु बढिरहेका छन् । विभिन्न रुपमा आर्थिक जोहो गरेर यस्ता सवारी साधन किनेका प्रयोगकर्ताहरुले हाल कसरी पेट्रोलियम खपत कम गर्ने भन्नेमा लागिरहेकाले पनि यस्ता सवारी साधनको प्रयोग कम भइरहेको मान्न सकिन्छ । बरु सडकमा एसयूभी र अन्य ठूला कारहरु बढि देखिन्छ । कार्यालयले उपलब्ध गराएका र कुनै संस्थामार्फत प्राप्त भएका यस्ता सवारी साधन मात्र सडकमा धेरै भएका मान्न सकिन्छ ।