वीरगंज । सत्ता गठबन्धनका नेताहरुले सरकारलाई पेट्रोलियम पदार्थको मुल्य घटाउन निर्देशन दिएको छ। शनिवार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा नेताहरुले महङ्गी नियन्त्रणका लागि पेट्रोलियम पदार्थमा मुल्य घटाउनुपर्ने निर्देशन सरकारलाई दिएको हो। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायत सहभागी बैठकले कर कटौती गरी पेट्रोलियम पदार्थको मुल्य घटाउन निर्देशन दिएका हुन्।
‘प्रम निवास वालुवाटारमा सम्पन्न गठबन्धन बैठकले बढ्दो महङ्गी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मुल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ,’ बैठकपछि प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने। सरकारको निर्देशनपछि नेपाल आयल निगमले आजै पेट्रोलियम पदार्थको मुल्य घटाउन सक्ने बताइएको छ। निगमले डिजेल र पेट्रोलमा २५ रुपैयाँदेखि ३० रुपैयाँसम्म मुल्य कटौति गर्ने देखिन्छ। यसअघि संसदीय समितिले पेट्रोलियम पदार्थमा सरकारले उठाउँदै आएको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो।
विद्यमान अन्तराष्ट्रिय परिवेशबाट सिर्जित पेट्रोलियम पदार्थको मूल्यवृद्धि सामान्य नभएसम्मका लागि पेट्रोलियम पदार्थ बिक्रीमा सरकारले विभिन्न शीर्षकमा उठाउँदै आएको कर ५० प्रतिशत घटाउन भनिएको उपसमिति संयोजक प्रकाश रसाइलीले शुक्रवार बताएका थिए। निगमले अहिले आफ्नो थोक खरिद मूल्य सार्वजनिक गर्ने गरेको छैन। तथापि, अहिलेको मूल्यमा पेट्रोलमा करिब ६५ रुपैयाँ र डिलेजमा ५० रुपैयाँ हाराहारी कर सरकारले उठाउँदै आएको बुझिएको छ। हरेकपटक हुने मूल्यवृद्धिमा समेत सरकारले भ्याट उठाउने गरेको छ।