वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न २ वटा स्थायी र २ वटा अस्थायी स्टेशन स्थापना गरिएको छ ।
नयाँ स्टेशन थपेर निःशूल्क रुपमा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्ने कार्य प्रारम्भ गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए । सेवाग्राहीबाट अस्वभाविक शूल्क लिई साईबर र स्टेशनरी पसलहरुले राष्ट्रिय परिचय पत्रको अनलाईन फारम भरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय पर्साले कोठा नम्बर ७ बाट निःशूल्क रुपमा अनलाईन फारम भर्ने व्यवस्था पनि मिलाएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
पौडेलद्वारा शुक्रवार जारी सूचनामार्फत शूल्क लिएर कुनै स्टेशनरी तथा साइबर पसलहरुले राष्ट्रिय परिचय पत्र अनलाईन फारम नभर्न÷नभराउन पनि आग्रह गरिएको छ । सूचनाको विपरित कसैले शूल्क लिएर अनलाईन फारम भरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुने पनि सूचनामा उल्लेख छ ।