वीरगंज । तीन हप्तादेखि निरन्तर रूपमा गिरावट हुँदै आएको नेप्से परिसूचक शुक्रबार भने सामान्य अंकले वृद्धि भएको छ। शुक्रबार नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको हो। यस्तै, सेन्सेटिभ इण्डेक्स २.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले बढेको छ। शुक्रबार कारोबारमा आएका २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता सेयर १ अर्ब १५ करोड १२ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ। कारोबार रकम भने अघिल्लो कारोबारको भन्दा कम भएको छ।
नेप्सेका १३ उपसूचकहरु मध्ये १२ वटा उपसमूहको सूचक बढेको छ भने म्युच्युअल फण्ड उपसूचकमा भने गिरावट आएको छ। जसमा फाइनान्स उपसमूहको सूचक सर्वाधिक १.९१ प्रतिशतले बढेको छ भने यता म्युचुअल फण्ड उपसमूहको सूचक ०.६७ प्रतिशतले घटेको छ।
त्यस्तै, शुक्रबार कारोबारमा आएका ङादी ग्रुप पावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने सिवाइसी नेपालको सेयरमूल्य पनि ८.२१ प्रतिशतले बढेको छ। तर, यता आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य भने ७.८८ प्रतिशतले घटेको छ। कारोबार रकमको आधारमा ८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार गरेर कुमारी बैंक शीर्ष स्थानमा रहेको छ।