विराटनगर । उद्योग क्षेत्रको समस्या समाधान गर्न प्रतिबद्धता जनाएर पनि पूरा नगरेको भन्दै मोरङका उद्योगी व्यवसायीले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै सडक प्रदर्शन गरेका छन् । बिहीबार प्रदेश नम्बर १ को राजधानी विराटनगरका तीनवटा औद्योगिक तथा व्यावसायिक संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूले मोरङको बुढीगंगा गाँउपालिकास्थित विराटनगर धरान सडकखण्डमा विरोध प्रदर्शन गरेका हुन् ।उनीहरूले आगामी आर्थिक वर्षको बजेटले द्योगीलाई मर्कामा पारेको जनाउँदै लामो समयदेखि प्रदर्शन गरिरहेका छन् । माग सम्बोधनको आश्वासन दिइने तर कार्यान्वयन नगरेपछि अर्थमन्त्रीको राजीनामा मागेर सडक प्रदर्शनमा उत्रिनुपरेको उद्यागीको भनाइ छ ।
मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले चरणवद्ध आन्दोलन गरिरहेका छन् । खासगरी आर्थिक विधेयकले जीआई वायर, वनस्पति घिउ, खाने तेल, स्यानिटेरी प्याड तथा यार्न उत्पादन गर्ने उद्योगीलाई ठुलो मर्का परेको भन्दै उद्योगीले सच्याउन माग गरिरहेका छन् । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले भने, “अर्थमन्त्रीले समस्या समाधान गर्ने भन्दै हामीलाई काठमाडौं बोलाएर छलफल गर्नुभयो । तर पूरा गर्छु भनी भनेको वचनबाट पछि हट्दै सुधार गर्नमा ध्यान दिनुभएको छैन । उद्योगीलाई मर्का पर्ने गरि ल्याइएको विधेयकलाई सच्चाउनका लागि पटकपटक आग्रह गरिसक्यौँ तर वास्ता गरिएको छैन ।”सरकार छिमेकी राष्ट्रको उद्योगलाई पोस्न र स्वदेशी उद्योग डुबाउन सक्रिय भएको रिजालको आरोप छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयषराज प्याकुरेलले अर्थमन्त्रीदेखि राजनीतिक दलका नेताहरूले त्रुटि सच्याउने विषयमा आफूहरूलाई ढाँटेको बताए । “हामी सडक संघर्षमा जानुपर्ने अवस्था भएको छ । प्रधानमन्त्रीसमेत आफ्ना मन्त्रीहरूको बचाउमा लाग्नुभएको देखिन्छ,” उनले भने ।
आफूहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटघाट गर्दा उद्योगीको जायज मागको विषयमा अर्थमन्त्रीसँग कुरा गर्न भनेर आश्वासन दिएको तर व्यवहारमा भने काम नगरेको प्याकुरेलले बताए । मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन सारडाले गत वर्षसमेत अर्थमन्त्रीले दलाली गर्दै २४ वटा उद्योग बन्द गराएको आरोप लगाउँदै भने, “उहाँलाई पदमा बसिरहन अब सुहाउँदैन ।” कुनै एक व्यक्तिका लागि गरिएको निर्णयमा निर्णयकर्ता उद्योग व्यवसायीको ‘हत्यारा’ भएको भएको सारडाले बताए । उद्योगीको आन्दोलनमा श्रमिक र विभिन्न ट्रेड युनियन सम्बद्ध पदाधिकारीहरूले पनि साथ दिएका छन् । गोकुवा चौकबाट सुरु भएको विरोध विरोध र्याली बाँसबारी पुगेर कोणसभामा परिणत भएको थियो ।