किभ । खार्किभ नजिकै इजुम सहर छेउको सानो सहर बोरोभामा स्थानीय बासिन्दाले रुसी भगौडा सेना देखेको बताएका छन् । यसबारे बोरोभा समुदाय परिषद्ले सामाजिक सञ्जालमा लेखेको छ । परिषद्का एकजना अधिकारीले लेखेका छन्, “उनीहरू घाइते, हिलोमैलो, भोकाएको स्थिति एवं आक्रोशित मुद्रा र क्षतिग्रस्त उपकरणका साथमा यहाँ फर्केका छन् । उनीहरूले हाम्रो गाउँमा बस्ने एउटा थलो भेटाएका छन् । हामीलाई प्राप्त समाचार अनुसार करिब दुई सयजना रुसी फौज अहिले हाम्रो गाउँ नजिकको जंगलमा लुकिरहेका छन् । उनीहरूका कमान्डरहरूले उनीहरूको खोजी गरिरहेका छन् ।”
इजुम सहरमाथि कब्जा गर्न भएको अर्को युद्धमा पराजित भएपछि रुसी फौजको एक समूह बोरोभा नजिकको एउटा सानो गाउँ गोरोहोभात्कतर्फ भागेका हुन् । त्यसैगरी रुसी फौजको अर्को एक समूह एक स्थानीय जंगलमा लुक्न पुगेका छन् । द भ्वाइस अफ युक्रेनबाट ।