वीरगञ्ज । बारामा सोमबार सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ काटघाट जाने बाटो नजिकै सोमबार साँझ पूर्व पक्षिम राजमार्ग सडक खण्डमा पिकअप र टिपर एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा एकजनाको मृत्यु भएको हो । अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ
सडक खण्डमा पूर्व तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ च ४३२० नम्बरको महिन्द्रा पिकअप र बिपरित दिशाबाट आउँदै गरेको प्रदेश २-०३-००१ क १९७१ नम्बरको टिपर एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर पिकपमा सवार महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय सञ्जीव मण्डलको मृत्यु भएको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेश थापाले जानकारी दिए । उनको उपचारको क्रममा आज बिहान वीरगञ्जस्थित न्यूरो अस्पतालमा मृत्यु भएको डिएसपी थापाले बताए ।
दुर्घटनामा अन्य पाँच जना घाइतेसमेत भएका छन् । घाइते हुनेमा टिपरमा सवार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ विश्रामपुर बस्ने २९ वर्षीय शेख महम्द कासिम, वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ बस्ने १८ वर्षीय रामजी मण्डल र पिकअपमा सवार महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ११ बस्नेत १८ वर्षीय जितेन्द्र पासवान र औरही गाउँपालिका बस्नेत ३० वर्षीय लालश्रि साह रहेका छन् । उनीहरुको उपचार विभिन्न अस्पतालमा भइरहेको डिएसपी थापाले जानकारी दिए ।