वीरगंज । वर्षा लागेसँगै प्राकृति विपद्का घटना बढ्न थालेपछि त्यसको रोकथामका लागि पूर्व तयारीको माग गर्दै संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ।नेपालमा वर्षा याममा हुने बाढी, पहिरो, चट्याङ जस्ता विपद्का कारण मानिसहरुले ज्यान गुमाइ रहेको अवस्थामा त्यसको जोखिम न्यूनीकरणका लागि पूर्व तयारी थाल्नुपर्ने आवाज उठेको हो।कांग्रेस सांसद डा. डिला संग्रौलाको प्रस्तावमा विपद् जोखिम न्यूनीकरणका बारेमा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको हो। प्रस्तावको समर्थन देवप्रसाद तिमिल्सिना र प्रकाश रसाईली स्नेहीले गरेका छन्।
प्रस्तावमा भनिएको छ, ‘पहाडी क्षेत्रका केही भाग पहिरोको उच्च जोखिममा छन्। तराईका केही भाग डुबानको उच्च जोखिममा भएको थाहा हुँदाहुँदै पनि जोखिम न्यूनिकरणको तयारी, रोकथाम र नियन्त्रणका कार्यक्रम प्रभावकारी बन्न सकेका छैनन्। जोखिममा रहेका बस्तीलाई स्थानान्तरण गर्न सकिएको छैन। बाढी, पहिरोको जोखिम न्यूनिकरणका लागि कदम चाल्न सके अकालमै ज्यान गुमाउनेहरु बच्नेछन् । विस्थापित हुने घरपरिवार जोगिनेछन् । यसले राज्यलाई पनि क्षति कम हुनेछ।’
गृह मन्त्रालयको तथ्यांक अनुसार २०७७ सालमा पहिरोमा परी १८३ जनाको ज्यान गएको थियो। पहिरोकै कारण ६०२ परिवार विस्थापित भए भने चट्याङका कारण ६१ जनाको मृत्यु भयो। १४२ जना घाइते भएका थिए। बाढीका कारण ५३ जनाले ज्यान गुमाए। ठूलो पानी पर्दा ४२७ परिवार नराम्ररी प्रभावित बनेका थिए। यस वर्ष बाढी पहिरोबाट २० लाख जनसंख्या प्रभावित हुने आंकलन गरिएको छ। बाढी पहिरोबाट १९ लाख ९९ हजार ९ सय ७५ जनसंख्या र ४ लाख २१ हजार ४७ परिवार प्रभावित हुने आंकलन छ। त्यस्तो अवस्था पूर्वतयारीको काम अघि बढाउन सांसदहरुले गृहमन्त्रालयको ध्यानाकर्षण गराउँदै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको हो। प्रस्तावमाथि गृहमन्त्रीसँग समय मिलाएर सभामुखले समय तोक्नेछन्।