वीरगंज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कुनै पनि विदेशी राष्ट्रहरुसँग कुनै अनुचित सम्झौता नहोस् भन्ने कुरामा सरकारलाई सजग गराउँदै आएको बताएका छन्। आइतबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग गरेको छलफलका क्रममा पछिल्लो समय चर्चामा रहेको अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे आफूले सुरुदेखि नै चासो राखेको भन्दै अध्यक्ष नेपालले राष्ट्रियता मुद्दाको सवालमा आफूहरु संवेदनशील रहेको स्पष्ट पारे। उनले भने, ‘एसपीपीको बारेमा, प्रधानमन्त्रीको अमेरिका भ्रमणका बारेमा हामीले सुरुदेखि के–के हुन्छ? भन्नेबारे चासो राखेकै हो। हामी राष्ट्रिय इस्युहरुमा धेरै संवेदनशील छौँ। त्यसो हुनाले कुनै पनि विदेशी राष्ट्रहरुसँग कुनै पनि अनुचित खालको सम्झौता नहोस् भन्ने कुरामा हामीले सरकारलाई सजक बनाउँदै आएका छौँ।’
नेपाली सेनाले एसपीपीमा सहभागी हुनका लागि लेखेको पत्र सार्वजनिक भएपछि मात्रै आफूले यसबारे थाहा पाएको उनको दाबी छ। उनले भने, ‘यो एसपीपीको बारेमा जुन कुरा आयो, वास्तवमा हामीलाई जानकारी थिएन। २७ अक्टोबार २०१५ को पत्र अचानक बाहिर आयो। त्यो भन्दा पहिले धेरैलाई थाहा थिएन कि?’ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले समेत त्यसबारे थाहै थिएन भनेकोप्रति अध्यक्ष नेपालले आश्चर्य प्रकट गरे। उनले थपे, ‘हुँदाहुँदा हामीले के सुन्यौँ भने तत्कालीन प्रधानमन्त्रीले मलाई थाहै नदिइ त्यो चिठी पठाइएछ भन्नु भो। कति सही हो कति गलत हो थाहा छैन। जो प्रधानमन्त्री थियो, जसको पालामा गयो, उसैले थाहा छैन भनिसकेपछि अब अरुले कसरी थाहा पाउने? कि त हामी ज्योतिषी हुनु पर्यो। कि हामी अन्तर्यामी हुनुपर्यो। हामीलाई त्यो जानकारी थिएन। यो आएपछि मात्रै हामीले कुराहरु उठाएका हौँ।’
एसपीपीले नेपाली समाजमा नयाँ तरंग पैदा गरेको भन्दै उनले नेपाल कुनै पनि द्वन्द्वको अखडामा धकेलिनु नहुने बताए। उनले भने, ‘एसपीपीले नयाँ तरंग पैदा गरेको छ। अहिले पनि नेपाली समाज तरंगित छ। नेपाल कुनै पनि द्वन्द्वको अखडाको रुपमा धकेलिन पुग्यो? भन्ने जनमानसका आशंका र चिन्तालाई हामीले स्वाभाविक रुपमा लिनुपर्छ।’ यस विषयमा बृहत् बैठक आयोजना गरी स्पष्ट पार्ने विषयमा आजको गठबन्धनको बैठकमा छलफल भएको उनले जानकारी दिए। ‘बृहत् बैठकको आयोजना गरौँ र त्यो गठबन्धनको बैठकभित्र जम्मै कुराहरुलाई प्रष्ट पार्ने काम पनि गरौँ। विगतमा वास्तवमा के भएका थिए, कति ठीक भए कति बेठीक भए, त्यो समीक्षात्मक ढंगले छलफल गर्ने काम पनि गरौँ, भोलिको निम्ति आश्वस्त सबै पार्ने गरी प्रस्तुत होऔँ भन्ने कुराहरु पनि आज भएको छ।’