काठमाडौं । काठमाडौंबाट हराएका बालक भारतको पटनामा फेला परेका छन्। उनलाई उद्धार गरेर आफन्तको जिम्मासमेत लगाइसकिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ।
असार १ गते साँझ साढे ६ बजेदेखि १४ वर्षका बालक नवीन रूवाली हराइरहेका थिए। क्रिकेट खेल्न भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर ३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट निस्केका उनी बेलुकी कोठा फर्किएका थिएनन्। त्यसको भोलिपल्ट असार २ मा उनका दाजु भरत रूवाली सार्कीले भाइको खोजी गरिदिन प्रहरी बृत्त बानेश्वरमा निवेदन दिएका थिए।
भारतको प्रहरीसँग निरन्तर सम्पर्क र समन्वयमा बालकलाई उद्धार गरिएको प्रहरीले जनाएको छ। ती बालकलाई पटनास्थित रेलबे स्टेशनबाट सकुशल रूपमा उद्धार गरिएको हो।बालकलाई उद्धार गरी काठमाडौं ल्याएर उनका दाजु डडेल्धुरा गन्यापधुरा गाउँपालिका १ घर भई काठमाडौं महानगर ३१ शान्तिनगर बस्ने भरत रूवाली सार्कीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। ती बालकलाई कसले भारत पुर्याएको हो भन्ने खुलेको छैन।