अर्थमन्त्री शर्माले गरे राष्ट्रबिरुद्ध गद्दारी
दुईओटा ‘सुरसा’ आकारका भ्रष्टाचार र अख्तियार दुरुपयोगका मामिलाका भूकम्पमा अहिले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षका करिब एक दर्जन नेताहरु सँगै उनीहरुले प्रतिनिधित्व गरेको राजनीतिक पद्धति थिलथिलो भएका छन्। ‘बजेटगेट’मा अर्थमन्त्री जनार्दन शर्माले ‘सीए साप’ भनेर चिनाउँदै बजेटमा उनको सुझाब मान्न अर्थ मन्त्रालयका उच्च अधिकारीहरुलाई निर्देशन दिएका व्यक्ति एक निजी व्यापारिक संस्था ‘इनफिनिटी होल्डिङ्स’ का प्रतिनिधि भएको तथ्यलाई सरकारले संसदबाट अहिलेसम्म लुकाएको छ। संसदमा झुठ बोल्नु र संसदबाट सूचना लुकाउनु संसदीय अभ्यासमा सबभन्दा ठूलो अपराध मानिन्छ। शर्माको यो अपराधले स्पष्ट पार्छ कि उनी राज्यको नभएर कुनै निहित स्वार्थ समूहका अर्थमन्त्री हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई बर्खास्त गर्न नसक्नुले त्यो निहित स्वार्थ गिरोह सरकारभन्दा धेरै शक्तिशाली या ऊबाट संरक्षित भएको साबित गर्छ।
‘बजेटगेट’ सँगै अमेरिकाको ‘यूटा स्टेट नेशनल गार्ड’ सँग नेपाल सरकारले गर्न खोजेको तर सेनाको असहयोगपछि रोकिएको साझेदारी विवादले राज्य सत्ताको पहिलो प्रथामिकता र बफादारी आन्तरिक निहित स्वार्थ गिरोहप्रति र बाहिर ‘शक्तिशाली’ विदेशी शक्तिसँग रहेको देखाउँछ। त्योसँगै सरकार र सत्ता गठबन्धनभित्र अनि विविध दलहरुबीच राष्ट्रिय संवेदनशीलता बोकेका सुरक्षा या वैदेशिक मामिलामा आपसी सल्लाह हुने परम्परा समाप्त भएको पनि बुझ्न सकिन्छ। त्यसैकारण सरकारका मन्त्री र सत्ताका दलहरुले फरकफरक आवाजमा यी घटनाबारे बोलेका छन् संसद्मा समेत। बाह्य बफादारीकै कारण केही व्यक्तिहरु मौन छन्। यथार्थ के हो भने अमेरिकासँगको ‘स्टेट पार्टनरशीप प्रोग्राम’ र ‘बजेटगेट’ मा सत्ता र मुख्य प्रतिपक्षका शीर्ष नेताहरु नांगिएका छन्। जनताको नजरमा उनीहरु ‘राष्ट्रद्रोह’को कठघरामा छन्। भोलि उनीहरुको अवस्था अफगानिस्तानका राष्ट्रपति असरफ घानीको जस्तो त नहोला? विदेशी बफादारी लामो समयसम्म स्वदेशमा स्विकार्य हुन सक्दैन भन्ने सबैभन्दा पछिल्लो उदाहरण हुन् उनी। प्रतिकूल परिस्थिति या सत्ताबाट हट्दा उनले आफ्नो र परिवारको सुरक्षाका लागि देश छाडी अन्यत्र जाने निर्णय गरे। १४ वर्षअघि असंवैधानिक तरिका र बाह्य आदेशमा नेपालबाट राजसंस्था हटाइँदा राजा ज्ञानेन्द्र नेपाली जनताले दिएको हैसियत स्वीकार्ने घोषणासहित नेपालमै बसे। उनले किन त्यस्तो गरे? त्यसको वस्तुनिष्ठ मनन र विश्लेषण अझै सान्दर्भिक छ नेपालका लागि।