वीरगंज । हुम्ला जिल्ला समन्वय समितिका पदाधिकारीहरुका लागि हुने निर्वाचनमा तीन दलीय गठबन्धनले साझा उम्मेदवारी दिने दलहरुले निर्णय गरेका छन्। नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल गरे जिससको निर्वाचनमा जाने भएका हुन्। शुक्रबार सर्खेतमा तीन दलको प्रदेश स्तरका नेताहरुबीच बसेको बैठकले जिसस हुम्लाको निर्वाचनका लागि तीन दलबीच गठबन्धन गरी जाने निर्णय गरेकाे हाे। आगामी असार ७ गते हुने जिसस निर्वाचनमा तीन दलकाबीच सबै पदहरु बाँडफाँड गर्ने कार्य मिलेको हो।
दलहरुबीच भएको सहमति अनुसार जिसस प्रमुखमा नेकपा एकीकृत समाजवादी, उपप्रमुखसहित तीन जना सदस्य नेकपा माओवादी केन्द्र र चार जना सदस्यहरु नेपाली कांग्रेसलाई दिने भएको छ। त्यसैअनुसार असार ५ गते मनोनयन दर्ता दलहरुले गर्नेछन्। यसैबीच, मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार जिल्ला समन्वय समितिको पदाधिकारीहरुका लागि असार ७ गते मतदान हुनेछ।समन्वय समितिका लागि जिल्लाका सात वटा गाउँपालिकाका सात जना अध्यक्ष र सात जना उपाध्यक्षले मतदान गर्नेछन्।
गाउँपालिकाका अध्यक्ष उपाध्यक्षमा गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा गएका नेपाली कांग्रेसका तीन जना अध्यक्ष र तीन जना उपाध्यक्षमा निर्वाचित भएका छन् भने अर्को गठबन्धन दल नेकपा माअोवादी केन्द्रबाट पनि तीन जना अध्यक्ष र तीन जना उपाध्यक्ष निर्वाचित भएका छन्। एक जना अध्यक्ष स्वतन्त्रबाट निर्वाचित हुनुहुन्छ भने एक जना उपाध्यक्ष भने नेकपा एकिकृत समाजवादीबाट निर्वाचित भएका छन्। गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष पदमा एक जना पनि निर्वाचित नभएको एमालेले उम्मेदवारी दिने नदिने निर्णय गरेको छैन।