वीरगंज । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फर्किएका छन्। रुस सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री अथक शुक्रबार बिहान स्वदेश फर्किएका हुन्। स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अथकले भ्रमण पूर्णरूपमा उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन्।
रुससँगको ६६ वर्ष लामो कुटनीतिक सम्बन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसीमार्फत् थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुनेमा उनले विश्वास व्यक्त गरे। भ्रमणका दौरान रुसका समकक्षीसँग दुईदेशीय हितको विषयमा विशेष छलफल भएको र रुसले नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएको मन्त्री अथकले बताए।
रुसका खेलकुद मन्त्री आलेग भासिलिभिचको विशेष निमन्त्रणामा पहिलो पटक रुसको औपचारिक भ्रमण गरेका मन्त्री अथक र भासिलिभिचबीच नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुबै देशबीच मैत्रीपूर्ण तथा प्रतिष्पर्धात्मक खेलहरूको आदान-प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्नकालागि छात्रवृत्ति सहयोगलगायत विषयमा छलफल भएको थियो। रुस भ्रमणका क्रममा मन्त्री अथकले गैरआवासीय नेपाली संघ (एनआरएन) का पदाधिकारीहरूसँग समेत भेटघाट गरेका थिए। नेपालमा लगानीकाे वातावरण बन्दै गइरहेकाले देशकआर्थिक विकासका लागि सरकारको साझेदार बन्न रुसमा रहेका नेपालीहरूलाई आग्रह गरेको मन्त्री अथकले बताए।