वीरगंज । जीतपुर सिमरा उपमहानगर– १६ की सीता श्रेष्ठ सामान्य बिरामी हुँदा पनि उपचारका लागि वीरगञ्ज, हेटौंडा र भरतपुर पुग्ने गर्दछिन् । उनी आर्थिक रुपमा सम्पन्न भएर उपचारका लागि हेटौंडा, वीरगञ्ज पुगेकी भने होइनन् ।
गाउँमा भएको स्वास्थ्य चौकीमा औषधि, उपचार र स्वास्थ्यकर्मी नभएपछि बाध्य भएर अन्यत्र जानु परेको उनी बताउँछिन् । ‘गाउँमा स्वास्थ्य चौकी त छ तर औषधि उपचारको व्यवस्था र स्वास्थ्यकर्मी छैनन्,’ उनले भनिन्, ‘हामी उपचारका लागि वीरगञ्ज, हेटौंडा र भरतपुर जानुपर्छ, गाउँमा अस्पताल छ भन्नुमात्र हो । डाक्टर हुँदैनन्, सुविधा पनि केही छैन ।’
उपमहानगरभित्र निर्माण भएका आधारभूत स्वास्थ्य चौकीहरु सञ्चालन नहुँदा श्रेष्ठजस्तै अधिकांश बिरामी स्वास्थ्य सेवा लिन वीरगञ्ज, हेटौंडा र भरतपुर पुग्ने गर्दछन् । ‘हामीलाई धेरै समस्या छ, बिरामी भयो भने टाढा जानुपर्छ, गाउँमा स्वास्थ्य संस्था चल्यो भने सुविधा हुन्थ्यो, एम्बुलेन्स भाडा पनि तिर्नुपर्ने थिएन,’ श्रेष्ठले भनिन् ।