मुखमा राखको खानालाई दाँतले टुक्राउने र मसिनो बनाउने गर्छ । ¥यालले हामीले चपाएको खानालाई रसिलो बनाइदिन्छ । जिब्रोले ओल्टाइपल्टाइ चलाउनुका साथै घोल्ने काम पनि गर्छ । खाना चपाएर रसिलो र नरम बनेपछि हामी त्यसलाई निल्छौं । निलेको खाना घाँटी, खानानली हुँदै आमाशयसम्म पुग्छ ।
आमाशयमा ग्यास्ट्रिक रसले खानालाई थप चिप्लो बनाइदिन्छ र त्यसमा भएको हानिकारक सूक्ष्म जीवाणुलाई समेत नष्ट गरिदिन्छ । त्यसपछि सानो आन्द्राको ड्युडेनममा खाना जान्छ र त्यहाँ पित्त तथा प्यान्क्रियाटिक रसले खानालाई रासायनिक रूपमा मसिनो बनाउने काम गर्छ । ड्युडेनमबाट खाना जेजुनममा जान्छ र त्यहाँ पनि विभिन्न पाचन रसहरू निस्कन्छ । जसले खानालाई अझै मसिनो र नरम बनाइदिन्छ ।
त्यसपछि सानो आन्द्राको इलियममा भएका भिलाइले पोषक तत्वलाई शोषण गर्छ । भिलाइमा रक्तकोषिका भएका कारण शोषण गरिएका पौष्टिक तत्व शरीरको विभिन्न कोषहरूमा पु¥याइदिन्छ । शोषण गरेर बोकिरहेको छोक्रा ठूलो आन्द्रामा जान्छ र पानीको शोषण हुन्छ । त्यहाँ सूक्ष्म जीवाणुले नपचेका खानालाई अझ टुक्राउने र कुहाउने गर्छ । अन्तमा ती नपचेका र शोषण गरी बाँकी रहेको भाग दिसाको रूपमा बाहिर निस्कन्छ ।सामान्यतया हामीले खाने खानादेखि दिसाको रुपमा फ्याँक्ने विकारको पदार्थसम्म बन्ने प्रक्रिया यही हो । तर यो प्रक्रियामा हाम्रो मस्तिष्कको भूमिका यसमा समेटिएन । तर के मस्तिष्कको यसमा कुनै भूमिका हुँदैन त ?
कुनै पनि खानालाई कति सहजै पचेको छ कि छैन ? भन्ने कुरा खाने मान्छेको मानसिकतामा आधारित हुन्छ । यो कुरा हामीले पनि महसुस गरेको कुरा हो । कुनै पनि शारीरिक थकानबिना पनि हामीलाई दिनभरि मानसिक थकान महसुस गर्ने मान्छेले साँझमा धेरै भोकाएको महसुस गर्छन् । यसले पनि खाना र भोजनको पाचन प्रणालीबीच अन्योन्याश्रित सम्बन्ध छ भन्न सकिन्छ ।
पोषणविद् इन्द्रप्रसाद सिटौला खानाको पाचन प्रणाली र मान्छेको मानसिकताको बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको बताउँछन् । उनी यसको पाचन कार्यमा पनि मानसिकताले ठूलो भूमिका खेल्ने भएकोले खाना खाने बेलामा अन्यत्र ध्यान दिन नहुने बताउँछन् । उदाहरण दिँदै उनी भन्छन्, ‘खाना खाने बेलामा हाम्रो ध्यान कहाँ पुगेको छ, त्यसले पनि पाचन प्रणालीमा असर गर्छ । सामान्यतया मस्तिष्कको पाचन प्रणालीमा प्रत्यक्ष संलग्नता नदेखिए पनि यसको भूमिका भने महत्वपूर्ण हुन्छ ।’
सद्गुरुले विभिन्न अन्तर्वार्ता एवं मन्तव्यहरूमा मस्तिष्क र खाली पेटको बारेमा चर्चा गर्ने गरेका छन् । जस्तो पेट खाली रहँदा दिमागले उत्कृष्ट ढंगले काम गर्छ भनेर विभिन्न अध्ययनमा समेटिएको विषयलाई व्याख्या गर्दै सिटौला भन्छन्, ‘खाली पेटले घ्रेलिन नामको हर्मोन उत्पादन गर्छ । त्यही हर्मोनले पेट खाली छ भनेर दिमागमा सन्देश पठाउँछ । सो हर्मोनले यसका साथै अन्य काम पनि गर्छ । घ्रेलिनले दिमागमा रहेको हिप्पोक्याम्पस नामक क्षेत्रलाई सक्रिय बनाउँछ ।’ हिप्पोक्याम्पसले दिमागको त्यो क्षेत्रलाई सिक्ने, स्मरण गर्ने र स्थानसम्बन्धी अनुसन्धानको नेतृत्व गर्दै हामीलाई सधैं सतर्क, क्रियाशील र ध्यान केन्द्रित रहन मद्दत गर्छ भन्ने उनको मत छ । त्यसैले पनि खानाको पाचन प्रणाली र मस्तिष्कको बीचमा अन्योन्याश्रित सम्बन्ध हुन्छ ।