वीरगंज । पानीढलोदेखि घरका छानासम्म हिउँ । त्यहीं खेल्दै हुर्के, बढे । हिउँसँग अभ्यस्त भए । हिमालसँगै साइनो गाँसियो । सगरमाथाकै फेदीमा घर । दिनदिनैजस्तो सगरमाथा देख्थे । सगरमाथा (चोमलोङवा) लाई भगवान्, रक्षक मान्थे । त्यही भगवान् हेर्न जाने हुटहटी खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ थामेका २७ वर्षीय युवा निमानुरु शेर्पालाई पनि हुन्थ्यो ।शिखरमा पुग्न सक्छु भन्ने दरिलो आँट थियो उनमा । तर, त्यसका लागि चाहिने रकम र सरकारी अनुमति नहुँदा चाहना मनमै खुम्चिएको थियो । ‘भगवान्को दर्शन गर्न पाए हुन्थ्यो भनेर कामना गरें । नभन्दै संयोग जुर्यो,’ उनले भने, ‘२०१६ मा १७ वर्षको उमेरमा गाइड बन्दै सगरमाथा शिखर चुमें । निकै खुसी लाग्यो । ५ पटक त ढोगें । २१ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका काका आप्पा शेर्पालाई सम्झें ।’ पहिलोपटक बेस क्याम्पदेखि ८ दिनमै १७ जनाको टोलीलाई उनले सकुशल हिमाल आरोहण गराएका हुन् ।
उनीजस्तै थामेकै ३२ वर्षे युवा छिरिङवाङजु शेर्पालाई पनि गाउँका युवा सगरमाथा चढेको देख्दा चढुँचढुँ लाग्यो, तयार भए । ‘साथीहरूसँग हिमाल चढेको अनुभव र हिउँ छिचोल्ने तौरतरिकाका बारेमा कुरा गरें,’ उनले भने, ‘त्यसलाई तालिमका रूपमा लिएँ । अवसर पाएँ ।’ सन् २००५ मा पहिलो पटक उपलब्धि हासिल गर्दा उनमा खुसीको सीमा रहेन । ‘ममात्रै होइन,’ उनले भने, ‘मेरा टोलीका १६ जनालाई सगरमाथामा पाइला टेकाएँ ।’ युवाहरूले अवसर पाए गर्न सक्छन् भन्ने देखाए । अहिले शेर्पा युवा सगरमाथा चढ्न निकै उत्साहित छन् । नाम र दाम हुने हुँदा युवाहरू हिमाल आरोहणलाई प्राथमिकतामा राख्छन् । पितापूर्खाले गरेको पेसा जोगाउन उनीहरू हिमालप्रति आकर्षित बनेका हुन् । ‘युवाहरू हिमाल चढेर आफू मात्र फर्कंदैनन्,’ हिमालमा पर्यटन प्रवर्द्धनको काम गरिरहेका पर्यटन इलमी विक्रम पाँडेकाजीले भने, ‘उनीहरू नयाँ पर्यटकीय सम्भावना बोकेर पनि फर्कन्छन् ।’ यतिमात्र होइन, युवा शेर्पाहरू हिमाल चढेर फर्कंदा जोखिम घटाएर फर्कन्छन् । हरेकपल्ट नौलो मानिने हिमाली यात्राबाट आरोहीलाई सकुशल फिर्ता लिएर आउँछन् । ‘सगरमाथा र शेर्पा दुवै अद्वितीय छन् । शेर्पाहरू भएनन् भने कसैले सगरमाथा चढ्न सक्दैनन्,’ उनले भने ।
पहिलोपटक सगरमाथा आरोहण भएयता करिब ६ हजारले सगरमाथा आरोहण गरिसकेका छन् । त्यसमध्ये थामे गाउँबाट २ सय बढी युवाले सगरमाथामा पाइला राखेका छन् । अझै २० बढी युवा सगरमाथा चढ्ने तयारी गरिरहेको सगरमाथा आरोही छिरिङवाङजु शेर्पाले बताए । पहिलोपटक एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मे २९ मा पाइला राखेको सगरमाथामा थामे गाउँकै धेरै कीर्तिमान बनेको छ । प्रथम आरोही तेन्जिङ नोर्गे शेर्पाको गाउँ पनि यही हो । बिना अक्सिजन १० पटक सगरमाथा आरोहण गर्ने हिउँ चितुवा आङरिता शेर्पा, २१ पटक सगरमाथा आरोहण गर्ने आप्पा शेर्पा र २६ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने कामीरिता शेर्पा पनि यही गाउँका हुन् । त्यही भएर यहाँका युवामा सगरमाथा आरोहणको क्रेज बढ्दो छ । सगरमाथा आरोहण गर्नुअघि आसपासका लोत्से, आमाडब्लम, मनास्लु, तिलिचोलगायतका हिमाल आरोहण गर्छन् । थामेका २७ वर्षे युवा निमानुरु शेर्पाले पाँचपटक सगरमाथा आरोहण गरे । तिलिचो एकपटक र आमाडब्लम दुईपटक आरोहण गरे । ‘बाध्यता र जीविकोपार्जनको माध्यम पनि यही हो,’ उनले भने, ‘सगरमाथा एकपटक आरोहरण गरेर फर्कंदा ५ देखि ६ लाख रुपैयाँ कमाइन्छ ।’ यसले उनको चुलौचौको चल्छ । परिवार पनि खुसी छन् । आफू पनि हिमाल चढ्न पाएकामा दंग भएको उनले सुनाए । ‘सगरमाथा चढ्दा प्रत्येकपटक मृत्युले छोएर जान्छ,’ उनले भने, ‘सीप र कौशलले गर्दा जोगिएर फर्केर आउँछौं ।’ असाधारण साहस र जीवनशैलीकै कारण शेर्पालाई अमेरिकी सञ्चार संस्था सीएनएनले ‘सुपर ह्युम्यान’को उपाधि दिएको छ । तर, यसको सरकारले अवमूल्यन गर्दै आएको उनले दुखेसो गरे ।
पर्वतीय पर्वतारोहण पर्यटनको विकासका लागि युवा शेर्पा गाइड र भरियालाई परिचालनका लागि सरकारले नीति बनाउनु पर्ने सगरमाथा आरोही युवा गाइड छिरिङवाङजु शेर्पाले बताए । ‘हिमाल आरोहणमा शेर्पाको साहस, हाई अल्टिच्युडमा सर्भाइभ गर्न सक्ने फरक जिन र हिमालमा बित्ने जादुमयी जिन्दगीका लागि विश्वभरि परिचित छ,’ उनले भने । तर, आफ्नै मुलुकमा बिरानो रहेको उनले दुखेसो गरे । नेपाल र चीनतिरबाट ५–५ पटक सगरमाथा आरोहण गरेका उनले तिब्बतको ८ हजार मिटर अग्लो चोयु हिमाल पनि ५ पटक नै आरोहण गरेका छन् । हरेक आरोहण सिजनमा जीवनको पर्वाह नगरी खटिन्छन् । हिउँपहिरो, खरपास (बरफको खोंच)मा उत्तिकै जोखिम छ । पाइलापाइलामा जोखिम छ । हिमाल आरोहणको रोयल्टीबापत सरकारले बर्सेनि करोडौं संकलन गर्छ । सगरमाथा आरोहणमा संलग्न शेर्पा पर्वतारोहीको सुरक्षा र तिनका परिवारको भरणपोषणका लागि थप काम गर्न ३० वर्षे युवा निमातेन्जिङ शेर्पाले आग्रह गरे । बेस क्याम्पदेखि सगरमाथा शिखरसम्म बाटो बनाउने, हावापानी बदलिने बित्तिकै भत्कने हिमाली बाटो मर्मत गर्ने, पुल हाल्ने, डोरी बाँध्ने, सामान ओसारपसार गर्ने तथा आरोहीलाई सकुशल शिखरमा पुर्याएर फर्काउने काम शेर्पाहरूले गर्छन् । बेसक्याम्पबाट सगरमाथा चुचुरोमा चारवटा क्याम्प बनाइएका छन् । क्याम्प वान, क्याम्प टू, क्याम्प थ्री र क्याम्प फोर । सबैभन्दा उचाइको क्याम्प फोर ८ हजार मिटरमा पर्छ ।
क्याम्प वान, क्याप टूमा तलमाथि गरिरहनुपर्छ । माथि जाने मौसमसँग अभ्यस्त हुने गर्नुपर्छ । मौसम, स्वास्थ्य र आरोहणको संख्यालाई हेरर क्याम्प अघि बढ्दै जानु पर्छ । मौसम बिग्रिए तल झर्नु पर्छ । बाटो बनाउन, सामान ओसार्न, डोरी हाल्न, भर्याङ ठड्याउन र राख्न हिंडिरहनु पर्छ । तर, अन्तिम क्याम्पबाट चुचुरो पुग्न रातदिन हिंड्नुपर्छ ।’ हरेक क्याम्पबाट दैनिक ४ देखि ८ घण्टासम्म हिंड्नुपर्छ । अल्टिच्युडले हिँडाइमा प्रभाव पार्ने भएकाले समयमा केही तलमाथि हुन सक्ने उनले बताए । सगरमाथाको शिखर चुम्नु आफैंमा साहसिक र जोखिमपूर्ण काम हो । तिनै चुनौतीलाई चिर्दै सगरमाथाको विश्व कीर्तिमान बनाउन हिम्मती आरोहीले अठोट गरेका छन् । ‘नेपाल भन्ने बित्तिकै सगरमाथा र शेर्पा भनेर चिन्छन्,’ तीनपटक सगरमाथा चुचुरो पुगेका ३० वर्षे युवा निमातेन्जिङ शेर्पाले भने, ‘आरोही शेर्पा विदेश पलायन भइसके । मलाई पनि बोलाएका छन् । तर, म नेपालमै बसेर काम गर्नुपर्छ भनेर यतै बसेको छु ।’