इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकाको बजार क्षेत्रमा चितुवा आएको छ। इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार उपमहानगरपालिका –६ स्थित जुट विकासमा चितुवा भेटिएको हो। सोमबार बिहान करिब साढे ५ बजे बजार क्षेत्रको मानव बस्तीमा चितुवा भेटिएको हो। बजार क्षेत्रमा चितुवा देखिएपछि स्थानीय त्रसित भएका छन्।
चितुवा बस्ती डुल्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। चितुवा देखिएसँगै प्रहरी र सशस्त्र प्रहरीको टोलि परिचालन भएको छ। तर, चितुवालाई कसरी नियन्त्रणमा लिने भन्ने कुरामा अन्यौलमै रहेको छ। घटनास्थलमा सुरक्षानिकायसँगै उपमहानगरका मेयर हेमकर्ण पौडेलले चितुवा नियन्त्रण गर्नका लागि प्रयास भइरहेको बताएका छन्। मेयर पौडेलले वन कार्यालय, कोसी टप्पु वन्यजन्तु आरक्षसमेतका निकायलाई वस्तीमा चितुवा भेटिएको जानकारी गराएको बताए।
त्यसैगरी, प्रहरी नायब उपरीक्षक खड्काले घटनास्थलमा परिचालित सुरक्षाकर्मीको टोलीले घटनास्थल सुरक्षित गर्ने र वरपर भीडभाड नियन्त्रण गर्ने काम भइरहेको छ। चितुवा आक्रमणबाट मानवीय क्षति नपुगोस भन्ने गरि हाल सो क्षेत्रमा स्थानीयलाई घरभित्र ढोका लगाएर बस्न आग्रह गरिएको उनले जानकारी दिए। चितुवा भने बस्ती भएको स्थानमा घरभित्र कम्पाउण्ड भित्र बाहिर गरिरहेको छ। स्थानीयको हो–हल्ला र आक्रोशले चितुवा अत्तालिएको र कम्पाउण्ड नाघेर भाग्ने प्रयास गरिरहेको छ। जुट विकास क्षेत्र उत्तरतर्फ रहेको चारकोशे जंगलबाट चितुवा बस्तीमा पसेको हुन सक्ने अनुमान गरिएको छ।