वीरगंज । गर्मीयामसँगै लामखुट्टेजन्य रोगको जोखिम बढेको छ । विशेषगरी, तराईका जिल्लाहरूमा यही समयमा डेंगुको प्रकोप देखिने गरेको छ । तर, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा पहाडी जिल्लाहरूमा समेत डेंगुको संक्रमण बढ्दो क्रममा छ ।
सन् १०१९ मा मात्रै नेपालमा ७ हजार ३७० जनामा डेंगु संक्रमण देखिएको थियो, भने ६ जनाको मृत्यु भएको थियो । तीमध्ये ३ हजार ९२९ केस बाग्मती प्रदेशका जिल्लाहरूमा भेटिएको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ३९ करोड मानिस डेंगु संक्रमित हुने गरेका छन् त्यसमध्ये ७० प्रतिशत नागरिक एसियाली मुलकका छन् । डेंगु संक्रमणबाट विश्वमा प्रत्येक १२ मिनेटमा एक जनाको मृत्यु हुने गरेको र यो बालबालिकामा हुने मृत्युको प्रमुख एक कारण पनि रहेको संगठनको तथ्यांक छ ।