कैलाली । भारतबाट स्वदेश फर्केका अछामका एक पुरुषको कैलालीमा मृत्यु भएको छ। अछामको चौरपाटी गाउँपालिका वडा नम्बर १ का ३५ वर्षीय धनबहादुर शाहको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले मृत्युको कारण खुल्न नसकेको बताए। भारतबाट फर्केर शाहसहित केही व्यक्ति धनगढी बसपार्कको होटेलमा बसेका थिए।
त्यहाँ बिरामी भएर सेती अस्पतालमा उपचार गरिएपछि स्वस्थ भएका शाह अछाम जाने क्रममा कैलालीकै फल्टुडे पुगेपछि फेरि बिरामी भएको डीएसपी जोशीले बताए। त्यहाँबाट उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल ल्याइएकोमा त्यहीँ उनको मृत्यु भएको हो।
यता, मृतकका आफन्तले भने शाहको हत्या भएको भन्दै जाहेरी दिने तयारी गरेका छन्। प्रहरीले भने मृतकको पोस्टमार्टम सेती अस्पतालमा भइरहेको र अहिले घटनाबारे बिस्तृत भन्न नसकिने जनाएको छ। डीएसपी जोशीले शाहसँगै आएका तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए।