वीरगंज । नुवाकोटको ककनी गाउँपालिकाको एक विद्युत पोलमा चढेका ४४ वर्षका माइला बिक (प्रेम) अझै पनि बिजुलीको तारमै रहेका छन् । मानसिक अवस्था ठिक नभएका माइला बिहान ११ बजेतिर बिजुलीको पोलमा चढेको जानकारी स्थानीयले पाएका थिए । त्यसपछि बिजुलीको लाइन काटिएको विद्युत् प्राधिरकणले जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार उनी चढेको जानकारी पाएलगत्तैदेखि विद्युत् प्रवाह बन्द गरिएको छ । माथिल्लो त्रिशुली थ्री ए र साना जलविद्युत आयोजनाको प्रसारणलाइनमा उनी चढेपछि विद्युत् प्रवाह बन्द गरिएको छ ।
प्रहरी र स्थानीय बासिन्दाले उनलाई सकुसल तल झार्न अनेक प्रयास गर्दा पनि नसकिएको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले बाह्रखरीलाई जानकारी दिए । “मैले यहाँ प्रमुख जिल्ला अधिकारीज्यूलाई पनि सेनाको हेलिकोप्टर बोलाएर उद्धार गरौं भनेर भनेको छु,” उनले भने, “विद्युत् प्राधिकरणले पनि घण्टाको १० लाख खर्च भइरहेको जनाएको छ । हामीले अनेक प्रयास गर्दा पनि तल झार्न सकेनौं ।” तामाङका अनुसार विकको मानसिक सन्तुलन गुमेको छ । “उहाँको मानसिक अवस्था ठिक रहेनछ,” तामाङले भने, “उनको मानसिक अवस्था ठिक नभएपछि श्रीमतीले पनि छाडेकी रहिछन् । बुबाआमा पनि उनकै कारणले छुट्टै बस्दा रहेछन् ।”
तामाङका अनुसार स्थानीयले बिहान ११ बजे बिजुलीको पोलमा चढेको देखेपछि खबर गरेका थिए । त्यसको केहीबेरपछि उनी तारमा झुन्डिएर यता र उता गरिरहेको तामाङले बताए ।नेपाल प्रहरीले दिएको जानकारीअनुसार दिउसोदेखि नै प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अनेक प्रयास गर्दा पनि उनलाई तल झार्न सकिएको छैन । अहिलेसम्म उद्धारका लागि हेलिकोप्टर भने प्रयोग गरिएको छैन । “हामीले अनेक प्रयास गरेका छौं, तर तल झार्न सकिएन,” त्यहाँ रहेका एक प्रहरी अधिकृतले भने । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवालले भने अहिले नेपाली सेना ‘स्टान्डबाइ’ अवस्थामा रहेको जानकारी दिए ।