वीरगंज । पाँच श्रृंखलाको पहिलो टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले सात विकेटले पराजित गरेको छ। यससँगै पाँच श्रृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ। विहीबार दिल्लीमा भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो।
दक्षिण अफ्रीकाको जितमा रस्शी भान डेर डुसेनले अविजित सर्वाधिक ७५ रन बनाए। यस्तै, डेभिड मिलरले ६४ रनको योगदान गरे। भारतका भुवनेश्वर कुमार, हर्सल पटेल र अक्षर पटेलले एक–एक विकेट लिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २११ रनको योगफल तयार पारेको थियो। भारतका इशान किशनले सर्वाधिक ७६ रन बनाए। यस्तै, श्रेयस इयरले ३६ तथा कप्तान ऋषव पन्तले ३६ जोडे। दक्षिण अफ्रीकाका केशव महाराज, एन्रिच नोर्किया, पर्निल र ड्वाने प्रिट्रोरियसले एक–एक विकेट लिए।