काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ। ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कम्पनीका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरुलाई प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले हस्तान्तरण गरे। विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निवेदनपश्चात परिचालित ट्राफिक प्रहरी टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको एसएसपी जोशीले बताए।
उनले भने, ‘हाम्रो टोलीले उपत्यका आसपासको इलाकामा विशेष सूचना संकलन गरी अपरेसनमा गइ मोटरसाइकलहरु बरामद गर्दछन्। चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेका छौँ। अनुसन्धानपश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेका छौँ।’ एसएसपी जोशीले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारी धनी पनि विशेष चनाखो र सजक हुनुपर्ने बताए। उनले सवारी चालक थप जिम्मेवार बनेर सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गरे।
यस आ.व. ०७८/०७९ मा ४३१ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको र ४३ जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागी विभिन्न प्रहरी वृत्तहरुमा पठाएको समेत ट्राफिक कार्यालयले जनाएकोछ। मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी सक्रिय रहेको र नियन्त्रणका लागि विशेष अभियानलाई प्रभावकारी बनाउन पीडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरीसमेत ट्राफिक प्रहरी कार्यालयले परिचालन गरेको छ। सवारीसाधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’मा लगइन गरेर अनलाइनमार्फत निवेदन दिन ट्राफिक कार्यालयले सूचित गरेको छ ।