वीरगंज । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले एक वर्षपछि महासंघको विधान संशोधन हुने बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित नेपाल युवा उद्यमी संघ ललितपुरको प्रथम वार्षिक साधारण सभामा उपाध्यक्ष श्रेष्ठले महासंघको सन् २००६ देखि विधान संशोधन नभएकाले अर्को वर्ष संशोधन गर्ने तयारीमा महासंघ रहेको बताए । उनले महासंघको विधान संशोधन गर्दा नेपाल युवा उद्यमी संघको अध्यक्षलाई स्वतः महासंघको सदस्य वा कार्यसमिति सदस्यको रूपमा राख्ने गरी विधान संशोधन गरिने बताए । उनले लामो समयदेखि युवा उद्यमीलाई महासंघमा ल्याउनुपर्छ भनेर लागिपरेकाले त्यही अनुसार संशोधन हुने प्रतिबद्धता जनाए ।
उनले भने, ‘२००६ पछि नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन भएको छैन । अस्ति विद्यान संशोधन हुने कुरामा पनि अब अर्को वर्ष संशोधन हुन्छ होला । महासंघको विधान संशोधन हुँदा नेपाल युवा उद्यमी संघको अध्यक्षलाई स्वतः महासंघको सदस्य वा कार्यसमितिको रूपमा कसरी ल्याउन सकिन्छ । त्यसबारे छलफल गर्नेछौँ। अझ युवा उद्यमीसँग कसरी काम गर्न सकिन्छ भन्ने कुरा पहिलादेखि प्रयास गरेको छु । त्यो काम गर्ने प्रतिबद्धता जनाउन चाहन्छु ।’
युवा उद्यमी संघ ललितपुर शाखाले बिहीबार नै नयाँ नेतृत्व चयन गरेको छ । युवा उद्यमी राजकरण श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति बनेको छ । संघका नवनिर्वाचित अध्यक्ष राजकरण श्रेष्ठले युवा उद्यमी संघलाई नेपालका युवा उद्यमी बन्न चाहने युवालाई सहयोग गर्ने माध्यम बनाउने बताए । उनले सरकारसँग युवा उद्यमका लागि रहेका समस्या समाधान गर्ने र नीतिगत व्यवस्थामा सहजीकरण गर्ने काममा निरन्तर लाग्ने बताए । अध्यक्ष श्रेष्ठले उद्यमीलाई कानुनी प्रक्रियाबारे सरकारसँग मिलेर प्रशिक्षण गराउने काम संघले गर्ने बताए ।