वीरगन्ज । वीरगन्जको नारायणी अस्पतालमा एमआरआई सेवा नहुँदा बिरामी मर्कामा परेका छन् । अस्पतालमा एमआरआई सेवा नहुँदा उपचारका लागि आउने बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता छ ।अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डन्ट डाक्टर वीरेन्द्र प्रधानका अनुसार एमआरआई गर्नुपर्ने दैनिक ८÷१० जना बिरामीलाई बाहिरका विभिन्न निजी मेडिकल कलेजहरूमा पठाउनुपर्ने अवस्था छ ।
नारायणी अस्पतालमा चेकजाच र उपचारका लागि दैनिक १ हजार देपख १५ सय बिरामी आउने गरेका छन् । ती मध्ये ८ देखि १० जना बिरामीको एमआरआई गर्नु पर्ने हुन्छ । तर अस्पतालमा उक्त सेवा नभएका कारण नीजी अस्पतालमा रिफर गर्नु पर्ने बाध्यता रहेको अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले बताए ।
कतिपय बिमाका एमआरआई गर्नुपर्ने बिरामीलाई बाहिर पठाउँदा निजी अस्पतालहरुले बेवास्ता गर्ने, समयमा नै नगर्दिने समस्या आएको सिंहले बताए । डाक्टर सिंहले जनतालाई सहज सेवा दिन सरकारी अस्पतालमा नै एमआरआई हुन जरुरी रहेको बताए । वीरगन्जका नीजी अस्पताले एमआरआई गराएको १५ हजारदेखि १८ हजार रुपैया सम्म शुल्क लिने गरेका छन् ।
मेसु प्रधानले नारायणी अस्पतालमा अबको एक देखि डेढ महिना भित्रमा एमआरआई सेवा शुरु हुने बताए । एमआरआइ मेशिन खरिदको प्रकृया अन्तिम चरणमा पुगि सकेको जानकारी पनि उनले दिए । एमआरआइ मेशीन खरिदका लागि टेण्डर आह्वान गरेको र एउटा मात्र फर्मको टेण्डर परेको जानकारी दिदै उनले उक्त टेण्डर खोलर खरिद प्रकृयाका लागि फाइल स्वास्थ्य मन्त्रालयमा पठाइ सकेको बताए । प्रधानले भने ,‘ बढिमा अब एक देखि डेढ महिना लाग्छ, एमआरआइ सेवा शुरु हुन्छ । उनले ३० करोड रुपैयाको एमआरआइ मेशीन खरिद गर्न लागिएको जानकारी पनि दिए । अस्पतालमा एमआरआइ सेवा शुरु भएपछि बाहिरको भन्दा निक्कै सस्तो शुल्क बिरामीले तिर्नु पर्ने उनले बताए । प्रधानले भने ,‘ यदि बाहिर १८ हजार लागेको छ भने नारायणी अस्पतालमा १० देखि ११ हजार मात्रै शुल्क तोक्छौ त्यो भन्दा बढि हुदैन । मधेसखबर