वीरगंज । तारा एयरको ९-एन-‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर मृत्यु भएका २२ जनाकै शव एकैपटक परिवारलाई बुझाइने भएको छ । दुर्घटनामा मृत्यु भएका चालक दलका सदस्यसहित २२ जनाको अहिले शव पोष्टमार्टम गरिँदैछ । जेठ १५ मा पोखराबाट उडेको ट्विनअटर सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव पोष्टमार्टम भइरहेको छ । अहिलेसम्म गर्दासम्म १० वटा शवको पोष्टमार्टम सकिएको छ । पोष्टमार्टम सकिएपछि एकैपटक मृतकका आफन्तहरूलाई शव हस्तान्तरण गरिने प्रहरी प्रवक्ता (एसएपी) विष्णुकुमार केसीले जानकारी दिएका छन् ।
त्रिवि शिक्षण अस्पतालले प्रहरीको सहयोगमा शवलाई नम्बर अनुसार छुट्याएर पोष्टमार्टम गरिरहेको छ । अनुहार चिन्न नसकिने शवहरूलाई आफन्तको सहयोगमा कपडा र खतको आधारमा पहिचान गरिएको शिक्षण अस्पतालका चिकित्सकले बताएका छन् । मंगलबार ८ वटा शव पोष्टमार्टम गरिएको थियो ।