वीरगञ्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जका नवनिर्वाचित मेयर, उपमेयर र अन्य जनप्रतिनिधिले आज सपथ ग्रहण गर्ने भएका छन् । पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित मेयर राजेशमान सिंह र नेपाली कांग्रेसका उपमेयर इम्तियाज आलमले आज सपथ ग्रहण गर्न लागेका हुन् । आज साँझ ५ बजे वीरगञ्जस्थित पूरान बस पार्कमा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए । सपथ ग्रहण पश्चात नवनिर्वाचित मेयर सिंह र उपमेयर आलमले आजै पद बहाली गर्ने कार्यक्रम समेत रहेको अहमदले बताए ।
सिंह वीरगञ्जका निवर्तमान मेयर तथा नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीलाई २२ हजार ४ सय ४४ मतान्तरले पराजित गर्दै बिजयी भएका छन् ।
सिंहले ४६ हजार २ सय १५ मत पाउँदा सरावगी २३ हजार ६ सय ७१ मतमै सिमित भएका थिए । त्यसैगरी उपमेयरमा आलमले आफ्नो निकटम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झालाई २० हजार ५ सय १० मतले पराजित गरेका छन् । आलमले ३० हजार ७८ मत ल्याउँदा झाले ९ हजार ५ सय ६८ मत प्राप्त गरेका छन् । वीरगञ्जको ३२ वटा वडा मध्ये जसपाले १३, कांग्रेसले १०, नेकपा एमालेले ७ र लोसपाले २ वटामा जित हासिल गरेको छ ।