बारा,१० जेठ । बाराका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथपछि पदभार ग्रहण गरेका छन् । यहाँका १५ वटै पालिकाका जनप्रतिनिधिले आज पद तथा गोपनीयताको सपथ लिएका हुन् । निजगढ नगरपालिकाका नागर प्रमुख सुरथ पुरीले उपप्रमुख सोममाया थिङलगायत वडा अध्यक्ष र सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । निजगढस्थित बैंगकुट सभा हलमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख पुरीले उपप्रमुख थिङलाई पहिले शपथ गराएपछि वडा अध्यक्ष र सदस्यहरूलाई ईश्वर, देश र जनताको नाममा पद तथा गोपनीयताको शपथ गराएका थिए । शपथ कार्यक्रमपछि उपप्रमुखसहित सबैले पदबहाली गरेका छन् ।
जितपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिले सोमबार पदभार ग्रहण गरेलगत्तै पदबहाली गरेका हुन् भने कलैया उपमहानगरपालिकामा निर्वाचित जनप्रतिनिधिले आइतबारै शपथ लिएका थिए । उनीहरूले आज पदबहाली गरेका छन् । मुख्य निर्वाचन अधिकृतसँग शपथ लिएपछि साहले उपमहानगरका अन्य जनप्रतिनिधिलाई शपथ गराएका थिए । शपथ ग्रहण गराएसँगै नगरप्रमुख साहले पदभार ग्रहण गरेका छन् ।
यस्तै बाराका अन्य पालिकामा समेत नवनिर्वाचित पदाधिकारीले शपथ ग्रहणपछि पदभार ग्रहण गरेका छन् । बाराको स्थानीय तहमा निर्वाचित पालिका प्रमुखले आईतबारै सपथ लिएका थिए । जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको प्रमुख तथा अध्यक्षमा निर्वाचित जनप्रतिनिधिलाई शपथ खुवाएका हुन् ।