काठमाडौं । लुम्बिनी, पशुपति र जनकपुरलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा विकास गरिने सरकारले घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम संसद्को दुवै सदनमा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने नीति लिने बताइन् । नेपालको इतिहास, कला, संस्कृति एवं अन्य मौलिक विशेषता समेटिएको बृहत संग्राहलय निर्माण गरिने नीति तथा कार्यक्रममा भनिएको छ ।
ताप्लेजुङ, दार्चुला ग्रेट हिमालय ट्रेलको स्तरोन्नतिलाई प्राथमिकता दिइने, बराहक्षेत्र, चतराधाम, र रामधुनी क्षेत्र तथा कोशीटप्पु वन्यजन्तु आरक्षण समेटेर बृहत धार्मिक, सांस्कृतिक, पर्यापर्यटन केन्द्रको रूपमा विकास गर्न एकीकृत कार्यक्रम ल्याइने जनाइएको छ ।