वीरगंज । देशभरका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेराबाट निगरानी गर्न असम्भव हुने निर्वाचन आयोगले जनाएको छ । सबै मतगणना स्थलमा सीसीटीभी जडान सम्भव नभएपछि भीडीओ रेकर्ड भने गरिने आयोगले जनाएको छ । निर्वाचन आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सबै ७ सय ५३ स्थानीय तहलाई मतगणना स्थलमा सीसीटीभी क्यामेरा राख्ने व्यवस्थाका लागि परिपत्र गरेको थियो ।
त्यस अनुसार स्थानीय तहले व्यवस्थापन गर्न नसक्दा आधाभन्दा कम स्थानीय तहमा मात्रै सीसीटीभीबाट मतगणनाको निगरानी सम्भव भएको हो ।‘करिब ३०० मतगणना स्थलमा मात्रै सीसीटीभी क्यामेरा हुने भएको छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भने, ‘हामीले सीसीटीभी क्यामेरा प्रदान गर्न सक्ने अवस्था थिएन । स्थानीय तहले कतिपय ठाउँमा व्यवस्था गर्न नसक्ने भए ।’देशभर १० हजार ७ सय ५६ वटा मतदानस्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र तोकेको छ । सबै मतदानस्थलबाट मतपेटिका संकलन गरी निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरिन्छ ।
७ सय ५३ स्थानीय तहमा मतगणना हुनेछ । दुर्गम स्थानका मतदानस्थलमा बिजुली, इन्टरनेटको सुविधा नभएका कारण सीसीटीभी क्यामेरा राख्न सम्भव नभएको निर्वाचन आयोगले जनाएको छ । आयोगले १ चैत २०७८ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परिपत्र गर्दै ‘मतगणना स्थल दृश्य अवलोकन प्रणालीको व्यवस्थापन गरी आयोगसँग सम्पर्क कायम गर्न’ भनिएको थियो ।