वीरगंज । समाजका प्रतिष्ठित मान्छेहरू भ्रमणमा आउँदा मानार्थ विद्यावारिधि दिने प्रचलन विश्वभर नै छ। त्यही चलनको निरन्तरताका रुपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनी विश्वविद्यालयले मानार्थ महा-विद्यावारिधिको उपाधि दिन लागेको छ। राजनीतिक, प्रशासनिक वा सामाजिक अभियन्ताको भूमिकाका रुपमा कुनै पनि व्यक्तिले समाजमा पुर्याएको योगदानका लागि यस्तो उपाधि दिने चलन रहेको छ। यसरी उपाधि दिने विषय कूटनीतिक सद्भावभित्र पर्छ। सांस्कृतिक क्षेत्रमा भारतीय प्रधानमन्त्री मोदीको यस क्षेत्रमा नै एक प्रकारको पहिचान र योगदान छ। मोदी लुम्बिनी घुम्न आउन चाहन्थे। यो उनको पहिले देखिकै इच्छा हो। प्रधानमन्त्रीको पहिलो कार्यकालमा नै लुम्बिनी भ्रमणमा आउन चाहेका उनी विभिन्न कारणले आउन सकेनका थिएनन्। जनकपुरधाम र मुक्तिनाथको भ्रमण गरेका उनको लुम्बिनीदेखि मुक्तिनाथसम्म भ्रमण गर्ने इच्छा रहेको बुझ्न सकिन्छ। त्यो पूरा हुन सकेको थिएन। उनी २८ वैशाख २०७५ मा नेपाल भ्रमणमा आउँदा लुम्बिनी भ्रमणमा जाने पूर्वयोजना थियो। तर, राष्ट्रिय-अन्तर्राष्ट्रिय कारणले काम गर्यो वा अन्य विषयले लुम्बिनी भ्रमण हुनसकेन। २०७१ मा पहिलो पटक नेपालको भ्रमण गर्दा पशुपतिनाथको मन्दिर लक्षित थियो, त्यो भ्रमण। त्यो भ्रमणको चर्चा पनि भयो। लुम्बिनीप्रति मोदीको सद्भाव थियो। त्यसैले उनको इच्छाकै कारण यो पटक लुम्बिनी भ्रमण हुन लागेको हो। लुम्बिनी भ्रमणमा आउँदा यो अवसर छोपेर लुम्बिनी विश्वविद्यालयले मानार्थ महा-विद्यावारिधि दिन लागेको हो।
मोदीको आगामी नेपाल भ्रमण राजनीतिकभन्दा सांस्कृतिक भ्रमण हो। मोदीको लुम्बिनी भ्रमणलाई संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले पनि चासो दिएको छ। लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक स्थल हो। बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा युनेस्कोले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन उसले पनि भारतीय प्रधानमन्त्री मोदीलाई निमन्त्रणा गरेको हो। तर, मोदी अरुको निमन्त्रणामा भन्दा पनि आफ्नै चाहनाका कारण लुम्बिनी भ्रमणमा आउन लागेका हुन्। प्रधानमन्त्री मोदी राजनीतिक व्यक्ति भए पनि संस्कृति उनको जीवनको अभिन्न पाटोका रुपमा रहेको छ। त्यसैले यो पटकको मोदीको नेपाल भ्रमणलाई सोही अनुरुप बुझ्न आवश्यक हुन्छ। मोदीलाई प्रदान गर्ने तयारी भएको मानार्थ महा-विद्यावारिधिमा एशिया र एशियाको यस क्षेत्रको धार्मिक सांस्कृतिक विधामा उनको लगाव, त्यसको व्यवस्थापन, सांस्कृतिक पक्षमा उनले देखाएको चासोको प्रशंसा गर्दै बुद्ध धर्मलाई प्राथमिकता दिँदै लुम्बिनी भ्रमणमा आएका कारण यो मानर्थ पदवी दिन लागिएको उल्लेख गरिएको छ। यस भ्रमणबाट दुई देशबीच केही समयदेखि रहेको चिसो सम्बन्धलाई हार्दिक बनाउने प्रयासका रुपमा पनि लिन सकिन्छ। लामो समयदेखि बुद्धको जन्मभूमिलाई भारतीयहरूले आफ्नो देशमा भएको बताउने गरेका थिए। बुद्ध जन्म जयन्तीको अवसरमा भारतका प्रधानमन्त्रीले लुम्बिनीको भ्रमण गर्दा त्यो विवादको अन्त्य हुनेछ।
सानै उमेरदेखि मोदीमा राजनीतिकसँगै धार्मिक चेत रहेको पाइन्छ। त्यसैले आफ्नो राजनीतिक जीवनको शुरुआतअघि उनी भारतको हिन्दूवादी संस्था राष्ट्रिय स्वंयमसेवक संघको सदस्य रहेका थिए। त्यो स्वयंसेवक संघले हिन्दू धर्मका साथै अन्य धर्मलाई पनि बढवा दिन्छ। राष्ट्रिय स्वयंसेवक संघको लक्ष्य नै स्वधर्मको रक्षा गर्नु हो। स्वधर्म भनेको स्थानीय धर्मलाई बढावा दिनु हो। स्थानीय धर्मको रक्षाका लागि उनले आफ्नो जीवन समर्पण गरेका छन्। उनले यसअघि नेपाल भ्रमणको समयमा मुक्तिनाथको भ्रमण गरेका थिए। मुक्तिनाथ हिन्दू र बौद्ध दुवै धर्मको पवित्र धार्मिक स्थल हो। हो, २००२ को गुजरातमा भएको धार्मिक हिंसाका कारण गुजरातका तत्कालीन मुख्यमन्त्री रहेका मोदीलाई अमेरिका लगायतका अन्य पश्चिमा देशले आफ्नो देश भ्रमणमा रोक लगाए। हिंसाका कारण धेरै मानिसको निधन र धेरे घाइते पनि भए। त्यो पुरानो विषय भइसक्यो। मोदी भारतको प्रधानमन्त्री भएपछि गुजरात काण्डमा उनी दोषी नरहेको ठहर गर्दै अमेरिका लगायतका पश्चिमा देशले उनीविरुद्ध लगाएको यात्रा प्रतिबन्ध खोलेको अवस्था हो। यात्रा प्रतिबन्ध खोलेसँग मोदीले अमेरिका लगायतको पश्चिमा देशको पटक-पटक भ्रमण गरिसकेका छन्। मोदी समाजिक राजनीतिक अभियान्ताका रुपमा रहँदा भएको घटनालाई आधार मानेर उनीविरुद्ध लगाइएको मुद्दा फितलो भएको छ। गुजरात हिंसाका लागि मोदी पहिलो कारण नभएको पुष्टि भएको छ। लुम्बिनी विश्वविद्यालयले मोदीलाई मानार्थ महा-विद्यावारिधि उपाधि दिने निर्णय गर्दा उनको विगतलाई हेरेनौँ। मोदी राजनीतिक व्यक्ति भए पनि सांस्कृतिक पक्षमा उनले गरेको योगदानलाई आधार मानेर विश्वविद्यालयले उनलाई विद्यावारिधिको उपाधि दिन लागेको हो। त्यसैले विद्यावारिधि कदरपत्रमा लेखिएको छ, ‘क्षेत्रीय सांस्कृति क्षेत्रमा पुर्याएको योगदान र बुद्ध धर्मप्रतिको चासो’ भनेर।
मोदीको लुम्बिनी भ्रमणसँग भारतको खर्चमा लुम्बिनी विश्वविद्यालयमा बुद्ध धर्म अध्यापनका लागि भारतको एउटा प्राध्यापक नियुक्त गर्ने तयारी भएको छ। भारतीय प्राध्यापकको अध्यक्षतामा बुद्ध धर्म अध्ययनका लागि एउटा शाखाको स्थापना गर्ने तयारी भएको छ। लुम्बिनी विश्वविद्यालयलाई यो भारतको योगदान हुनेछ। लुम्बिनीको दर्शनपछि भारतीय प्रधानमन्त्री मोदी मानार्थ महा-विद्यावारिधि ग्रहणका लागि विश्वविद्यालय आउने कार्यक्रम तय भएको छ। हाम्रो विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने कारण मोदीलाई मानार्थ उपाधि दिनका लागि नेपालका प्रधानमन्त्री लुम्बिनी आउने छन्। मोदीलाई प्रधानमन्त्री देउवासहित बुद्ध धर्मका प्रवर्तकबाट उपाधि प्रदान गरिनेछ। मोदीलाई प्रदान गरिने कदरपत्रको खाका विश्वविद्यालयका पदाधिकारीको बैठकले पारित गरिसकेको छ। लुम्बिनी भ्रमणका समयमा मोदी करीब एक घण्टा विश्वविद्यालयमा रहने हामीले अनुमान गरेका छौँ। तर, यस विषयमा हामीलाई कुनै जानकारी आएको छैन। मोदीको लुम्बिनी भ्रमण नेपालका लागि महत्त्वपूर्ण हुनेछ। लुम्बिनी भ्रमणका समयमा मोदीले बुद्धिष्ट सर्किटका लागि केही ठोस योजना सार्वजनिक गर्ने अपेक्षा हामीले लिएका छौँ। यसअघि, जनकपुर भ्रमणका समयमा उनले रामायण सर्किटको घोषणा गरेका थिए। लुम्बिनी भ्रमणका समयमा बुद्धिष्ट सर्किटको घोषणा भयो भने त्यसले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक असर पार्ने अपेक्षा गर्न सकिन्छ।