बीरगन्ज । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मधेसको पर्सामा कूल ६०२ पदका लागि ३ हजार २९७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा बीरगन्ज महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिका छन् । जिल्लाका विभिन्न पालिकामा १६ दलको तर्फबाट उम्मेदवारी परेको छ ।
स्वतन्त्र उम्मेदवारको सङ्ख्या कम रहेको छ । विसं २०७४ निर्वाचनपछि जिल्लामा ५७ हजार ६२४ मतदाता थपिएका छन् । हाल १ लाख ४८ हजार २८३ महिला र १ लाख ९१ हजार ५३७ पूरुष र १६ अन्य गरी ३ लाख ३९ हजार ८३६ मतदाता छन् । विसं २०७४ मा १ लाख २० हजार ९११ महिला, १ लाख ५९ हजार २८६ पुरुष र १५ अन्य गरी कूल २ लाख ८० हजार २१२ मतदाता थिए । विसं २०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा ८१ प्रतिशत मतदान भएको थियो भने ०.४० प्रतिशत मत बदर भएको थियो । जिल्लामा आशन्न स्थानीय तहको निर्वाचनमा एक ६७ वटा मतदातस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ ।