वीरगंज । स्थानीय तह निर्वाचनका लागि तुलनात्मक रूपमा बढी मतदाता भएका र सुरक्षालगायतका दृष्टिले संवेदनशील मानिएका विभिन्न जिल्लाका लागि निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली खटाएको छ । आयोगले नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाइएको जनाएको छ । टोलीले उम्मेदवारको खर्चको सीमा, आचारसंहिताको पालना, मौन अवधिमा आचारसंहिताको पालना, निर्वाचनको विश्वसनीयता र स्वच्छता आदि विषयमा अनुगमनको जिम्मेवारी पाएको छ ।
खटाइएका टोलीका लागि आयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले समग्र पक्ष र आचारसंहिताको कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारबाही गर्न सक्ने अख्तियारी टोलीलाई दिइएको बताए । उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय रूपमा सम्पन्न गर्ने सन्दर्भमा कुनै आग्रह पूर्वाग्रह नराखी ऐन, कानुनबमोजिम प्रभावकारी अनुगमन गर्न निर्देशन दिए ।