वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार मधुसुदन चौरसियाले घोषणा पत्र सार्वजनिक गरेका छन् । बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ र ४ मा बृहत घरदैलो सम्पन्न गरेपछि वडा नम्बर ५ मा पुगेर एक कार्यक्रमका बिच घोषणा पत्र सार्वजनिक गरिएको हो । नेपाल सुशासन पार्टीका जिल्ला अध्यक्षसमेत रहेका चौरसियाले सार्वजनिक गरेको घोषणा पत्रमा गाउँपालिकामा सुशासन स्थापना गर्नुका साथै हरेक कामलाई डिजिटलाईज्ड गर्ने कुरालाई प्राथमिकता दिइएको छ । गाउँपालिकाबासीलाई सहज र सरल सेवा सुविधा दिलाउनेदेखि पानी एवम् बिजुलीको न्युनतम शूल्क गाउँपालिकाले बेहार्ने कुरा उल्लेख गरिएको छ । गाउँपालिकाको शिक्षा, स्वास्थ्यदेखि कृषि, भौतिक पूर्वाधार निर्माण, युवा, रोजगारी लगायतका कुरालाई प्राथमिकता दिइएको छ ।
करकोे दर घटाएर दायरा बढाउने, गाउँपालिकालाई भ्रष्टाचाररहित बनाउने, सेवा सुविधालाई चुस्त दुरुस्त र सहज बनाउने, अनलाईन सेवाको बिस्तार गर्ने लगायतका योजनाहरुलाई घोषणा पत्रमा जोड दिइएको छ । घोषणा पत्रमा उल्लेखित योजनाहरुलाई पूर्ण रुपमा कार्यन्वयन गर्ने चौरसियाको प्रतिबद्धता छ । नेपाल सुशासन पार्टीका केन्द्रिय अध्यक्ष रमेश खरेलले जोश र जाँगरसहित ठोस योजनासहित चुनावी मैदाना उत्रिएका युवालाई मकै छापमा मतदान गरेर बिजयी बनाउन गाउँपालिकाबासीलाई अनुरोध गरेका छन् । घरदैलोसँगै घोषणा पत्र सार्वजनिक कार्यक्रममा नेपाल सुशासन पार्टीका नेतादेखि गाउँपालिका उपाध्यक्षकी उम्मेदवार, ५ वटै वडाका वडाअध्यक्षदेखि सदस्यका उम्मेदवार लगायतको उपस्थिती रहेको थियो ।