आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको निर्देशन र पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै हेटौंडा उपमहानगरपालिका-७ का धन थापालाई एमालेले कारबाही गरेको छ । नेकपा एमाले हेटौंडा-७ नम्बर वडा कमिटीको आज बसेको बैठकले पार्टीको निर्देशन र हितविपरीत गतिविधिमा सक्रिय भएको, पार्टीको उम्मेदवार हराउन लागिपरेको भन्दै थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निस्कासनसहितको कारबाही गरिएको वडा कमिटी अध्यक्ष कुलप्रसाद त्रिपाठीले जानकारी दिए ।
व्यवसायीसमेत रहेका थापाले एमालेले सर्वसम्मत उम्मेदवार बनाएको अध्यक्षलगायत सदस्य उम्मेदवारलाई हराउन विपरीत गठबन्धनसँग मिलोमतो गर्ने, गठबन्धनको चुनावी क्रियाकलापमा सक्रिय भएकाले पार्टीको विधानअनुरुप थापालाई कारबाही गरिएको अध्यक्ष त्रिपाठीले बताए ।