सिन्धुपाल्चोक — वैशाख ३० मा हुने स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा मत माग्न घरदैलो अभियानमा पुगेका नेकपा माओवादी केन्द्रका वडाध्यक्ष, सदस्यका उम्मेदवारमाथि एमालेका कार्यकर्ताले सामूहिक रुपमा आक्रमण गरेका छन् । इन्द्रावती गाउँपालिकाको झोलुंगेमा मतदाता भेट्दै आफ्नो एजेन्डा सुनाइरहेका इन्द्रावती गाउँपालिका १० का उम्मेदवार विनोद आचार्यसहित अन्य सदस्यमाथि एमाले नेताले सामूहिक रुपमा हमला गरेका हुन् ।
शुक्रबार माओवादी केन्द्र जिल्ला अध्यक्ष गोविन्द पराजुलीका अनुसार मत माग्ने क्रममा नेकपा एमालेका सोही वडाका उम्मेदवार बलबहादुर माझीसहितको टोलीले योजनाबद्ध ढंगले कुटपिट गर्न खोजेका थिए । एमालेका पुराना नेता तथा इन्द्रावती गाउँपालिका अध्यक्षका उम्मेदवार झम्क नेपालको गृहक्षेत्र इन्द्रावती गाउँपालिकामा माओवादी केन्द्रलाई मत माग्न अवरोध गरिनु दुःखद भएको उनले बताए ।
‘मत माग्न अवरोध गर्नु राम्रो भएन, एक्कासी भएको आक्रमणबीच केही कार्यकर्ता सामान्य घाइते पनि भएका छन्, मत माग्न पाउनु संवैधानिक अधिकार हो, यो हुनु राम्रो भएन,’ उनले भने । एमाले नेताको समूहले गरेको यस्तो आक्रमणप्रति घोर भर्त्सना गर्दै माओवादी केन्द्र इन्द्रावती गाउँपालिकाले मत माग्ने संवैधानिक अधिकार हनन भएको र कारबाहीका लागि दबाब दिँदै शुक्रबार प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा एमालेका उम्मेदवार माझी यस्तो काममा संलग्न भएको र उनी स्थानीय सूर्योदय आधारभूत विद्यालयको प्रधानाध्यापकसमेत रहेको उल्लेख छ ।