बारा, २३ असोज – व्यक्तिको नाममा पास भएको मसानघाटको जग्गा जिल्ला प्रशासन कार्यालय बाराको सक्रियताम बदर भएको छ ।
किर्ते काजगपत्र प्रयोग गरी व्यक्तिको नाममा दर्ता भएको बाराको जीतपुरसिमरास्थित मसानघाटको जग्गा अब पुनः सरकारको नाममा दर्ता हुने भएको हो । फिल्डबुकमा प्रस्टसँग मसानघाट भनी उल्लेख भएको कित्ता नं ५९ को ६ बिघा ८ कठ्ठा जग्गा मालपोत कार्यालय सिमराले शुक्रबार सरकारको नाममा दर्ता गर्ने निर्णय गरेको हो ।
२०४७ सालमा नियम विपरीत फरदवा गुठीको माध्यमबाट काठमाडौं धर्मस्थली स्थायी ठेगाना भएका रामचन्द्र गौतमले किर्ते कागजपत्र प्रयोग गरेर जग्गा आफ्नो नाममा दर्ता गरेका थिए । मसानघाटको जग्गा गौतमले भाइहरूको माध्यमबाट सिमराका चर्चित होटल व्यवसायी तथा जग्गा कारोबारी इच्छाबहादुर वाग्लेले उनको प्रोपटी म्यानेजमेन्टको नामक संस्थाबाट प्लटिङ गराएका थिए ।
उक्त जग्गा बीरगन्ज महानगरका प्रमुख विजय सरावगी, शालिमार उद्योगका प्रमुख अशोक वैद्यका छोरा हेमन्त, औद्योगिक करिडोरका केही उद्योगी, एभरग्रिन अस्पताल र सर्वसाधारणको नाममा बेचबिखन गरेका थिए । ‘मसानघाट’ उल्लेख भएको कित्ता नं ५९ बदर भएपछि सो कित्ताबाट बनेका सम्पूर्ण नयाँ कित्ताहरू स्वतः बदर हुने मालपोत कार्यालयलले जनाएको छ ।
सिमरा मालपोतले गौतमको नाममा कायम भएको ५९ नं को कित्ता र सो जग्गाको श्रेस्ता बदर गरेर पुनः मसानघाट नै कायम रहने निर्णयमा गरेको हो । ‘हामीले जग्गा दर्ता प्रक्रियामा पेस भएका काजतपत्रमा शंकास्पद रहेको, कानुनी रुपमा पनि दर्ता प्रक्रिया नमिलेकोले स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व समेतका आधारमा पुन मसानघाट नै कायम रहने गरी निर्णय ग¥यौं’, सिमरा मालपोत प्रमुख यादवराज आचार्यले भने ।
स्थानीय प्रशासनले बिहीबार मसानघाटको जग्गा सार्वजनिक जग्गाको परिभाषा भित्र पर्ने भन्दै व्यक्ति विशेषका नाममा जहिले जसरी दर्ता भए पनि सोको जानकारी प्राप्त हुन आएको अवस्थामा स्वतः बदर गरी सार्वजनिक सरकारी कायम गर्ने मालपोत ऐन २०३४ र देवानी संहिता २०७४ बमोजिम सार्वजनिक काम गर्न सिमरा मालपोतलाई निर्देशन दिएको थियो । मसानघाटको जग्गा रहेको जितपुर सिमरा वडा नं. ४ कार्यालयले सरजमिन मुचुल्का उठाएर साविकमा मसानघाट भनी उल्लेख भएको जग्गा कानुन विपरीत व्यक्तिको नाममा कायम गरी प्लटिङ गरी बेचबिखन भएकोले सो जग्गा सार्वजनिक जग्गा मसानघाट नै कायम गर्न असोज १४ गते मालपोत कार्यालय सिमरालाई पत्र पठाएको थियो ।
सिमरा मालपोतले फरदवा गुठीको माध्यमबाट फर्जी कागजपत्र प्रयोग गरेर गौतमको नाममा कायम भएको ५९ नं कित्ता बदर गरेर सो को लगत कट्टा गरी मिसिल तामेली राख्ने, सम्बन्धित जग्गा संरक्षणका लागि उपमहानगरलाई निर्णय जानकारी गराउने, साविक कित्ता नं ५९ कित्ताकाट भई कायम भएका सम्पूर्ण कित्ता यसै निर्णयले स्वतः सार्वजनिक भएको मानिने भनि नापी कार्यालयलाई लेखी पठाउने निर्णयमा उल्लेख छ ।
जग्गा किन्नेमा बीरगन्जका मेयर सरावगीसहित कयौं उद्योगी
होटल व्यवसायी तथा जग्गा कारोबारी वाग्लेले कित्ताकाट गरी बेचबिखन गरेको मसानघाटको जग्गामध्ये कित्ता नं १९१९ को ८ कठ्ठा १० धुर सिर्जना श्रेष्ठ र संजिता प्रधान, कित्ता नं १९१८ को १ कठ्ठा शान्तलक्ष्मी श्रेष्ठ र सुभद्रा श्रेष्ठ, कित्ता नं ९५१ को ६ कठ्ठा रत्नकेशरी श्रेष्ठ, कित्ता नं ७९८ को १० कठ्ठा देवकुमारी रिमाल, ९५३ को ३ कठ्ठा अनुराधा श्रेष्ठ, ७८४७ कित्ता नं २ कठ्ठा १३ धुर ६ कन्वा (१६ कन्वा को १ धुर हुन्छ) ’एभरग्रिन तराई हस्पिटल’को नाममा, कित्ता नं ११५९ को ६ कठ्ठा स्वयं वाग्लेको नाममा र कित्ता नं ६४०८ को ३ कठ्ठा १७ धुर तथा कित्ता नं ७८४८ को ६ कठ्ठा १० धुर जग्गा ’प्रोपर्टी म्यानेजमेन्ट’को नाममा छ । त्यसैगरी कित्ता नं ७८४९को ५ कठ्ठा ३ धुर ८ कन्वा एभरग्रिन तराई हस्पिटल’को नाममा छ। कित्ता नं ७८५०, ७४२५, ७४२४, ७४०२ को ५ कठ्ठा १७ धुर प्रोपर्टी म्यानेजमेन्टको नाममा श्रेस्ता कायम छ ।
त्यसैगरी वाग्लेको २०७५ असार ३२ गते वीरगञ्ज महानगरप्रमुख सरावगीलाई बेचेको कित्ता नं ६४०६, ७४०१, ७४०३, ७४०५ को २ बिघा २ कठ्ठा मसानघाटको जग्गा सरावगीले आफूसहित ४ जनाको नाममा संयुक्त पुर्जा बनाएका छन्। त्यसैगरी वाग्ले सञ्चालक रहेको प्रोपर्टी म्यानेजमेन्ट कित्ता नं ६४०७, ६४०१ र ६४०४ को ८ कठ्ठा ४ कन्वा जग्गा सुजिता अग्रवालले किनेकी छन्। वाग्लेमार्फत मसानघाटको जग्गा किन्नेमध्ये अधिकांश काठमाडौं निवासी रहेका मालपोत प्रमुख यादवराज आचार्यले जनाए। ०७२ सालमा वाग्लेले मसानघाटको सो जग्गा प्लटिङ गरेर बेचबिखन गरेका हुन्।
मसानघाटको सार्वजनिक जग्गा प्लटिङ गरेर बेचबिखन भएको समाचार सार्वजनिक भएपछि सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले पनि अनुसन्धान सुरु गरेको थियो। चौतर्फी दबाब आएपछि जिल्ला प्रशासन कार्यालय बाराले पनि माघ २८ गते नापी र मालपोत कार्यालयलाई पत्र पठाएर सो जग्गा सम्बन्धमा फिल्डबुक, नक्सा, श्रेस्तासहित सम्पूर्ण कागजपत्र हेरी यथार्थ बुझी लेखेर पठाउन निर्देशन दिएको थियो ।