वीरगंज । २० वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच वटै दलको पत्तासाफ गर्ने दाबी गरेका छन् ।
मंगलबार गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई ‘पत्तासाफ’ गर्ने दाबी गरेका हुन् । ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न इच्छुक रहेको समेत बताएका छन् ।
पूर्वप्रधानमन्त्री रहेका ओलीले गठबन्धन टुट्ने हो कि भन्ने डर आफूलाई रहेको भन्दै व्यंग्य समेत गरेका छन् । पाँचै (दल) लाई एकै पटक ‘कर्याककुरुक’ पारेर फाल्दिनु जति आनन्द केहीमा हुँदैन’ ओलीले भने । उनले एमालेको शक्तिका कारण मुलुकको राजनीति नै दुई धारमा मात्र सीमित बनेको टिप्पणी गरेका छन् । ओलीले गठबन्धनका कारण एमालेलाई धेरै फाइदा पुगेको समेत बताएका छन् ।
आसन्न स्थानीय तहको निर्वाचनमार्फत ‘झापा जिल्ला, लाल किल्ला’ बनाउने दाबी एमाले अध्यक्ष ओलीको दाबी छ । उनले पाँच दल मिल्दा पनि एमालेलाई हराउने हिम्मत ‘गठबन्धन’ सँग नभएकोले वैशाख ३० को निर्वाचनमा एमालेको बहुमत आउने दाबी गरेका छन् ।
देशमा परिवर्तनको शंखघोष गर्ने, कांग्रेसलाई त्यो बेला खुट्टा टेकाउन हिम्मत दिने पार्टी र त्यस आन्दोलनको जन्म भएको जिल्ला झापा भएको ओलीको भनाई छ । त्यो युग परिवर्तनको शंखघोष र आन्दोलन अहिले देशको ठूलो पार्टी एमाले बनेको उनले बताए ।