१४ वैशाख, काठमाडौं। बैंकिङ कसूर मुद्दामा एकजना फरार अभियुक्तलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको छ ।
ओखलढुंगाको सुनकोशी गाउँपालिका-१ घर भई बुढीनीलकण्ठ नगरपालिका-१० शिवमन्दिर कपन बस्दै आएका ३४ वर्षीय रामकुमार राईलाई मंगलबार सीआईबीको टोलीले पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले २०७८ फागुन २९ गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै २ दिन कैद सजाय र ११ लाख ६९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो ।
राईले राष्ट्रिय वाणिज्य बैंक खातामा पर्याप्त रकम नभएको जानी-जानी चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।
टंगालमा लुकिछपी बसिरहेको अवस्थामा राईलाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।